चितवनको बाटुली पोखरीमा घुँगी फोड चराले गुँड बनाउन सुरु 

चितवन – भरतपुर महानगरपालिका १३ बाटुली पोखरीमध्यवर्ती सामुदायिकवनमा रहेको बाटुली पोखरी तालमा यस वर्ष पनि घुँगी फोड (Asian Openbill Stork) ले गुँड बनाउन थालेका छन्।

गत वर्ष ४१० बटा गुँड बनाएको यस क्षेत्रमा यस वर्ष पनि सोही प्रजातिका चराहरू गुड बनाउन सक्रिय देखिएका छन्। उनीहरूले तालको विचभागमा रहेको सुकेको सालका रुखहरूमा गुँड बनाउन सुरु गरिसकेका छन्।

चराहरूको यो आवागमन तथा गुँड निर्माणले जैविक विविधताको दृष्टिले बाटुली पोखरी क्षेत्रको महत्त्व झनै बढाएको छ। संरक्षणकर्मीहरूका अनुसार चराहरूको यस्तो नियमित आगमनले वन्यजन्तु तथा पक्षी संरक्षणमा स्थानीय समुदायको भूमिका समेत महत्त्वपूर्ण रहेको देखिन्छ।

चराको संरक्षणलाई ध्यानमा राख्दै चितवन राष्ट्रिय निकुञ्जले पोखरीमा सञ्चालनमा रहेको डुङ्गा सेवामा अस्थायी रोक लगाउने निर्णय गरेको छ। डुङ्गा सञ्चालनले चराको वासस्थानमा असर पर्न सक्ने भएकाले बच्चा हुर्कुन्जेलसम्म डुङ्गा नचलाउने व्यवस्था मिलाइएको चितवन राष्ट्रिय  निकुञ्जका प्रमुख संरक्षण अधिकृत  डा. गणेश पन्तले जानकारी दिनुभयो।

“यस चराको प्रजनन समय संवेदनशील हुने भएकाले विगतका वर्षमा जस्तै यस पटक पनि समुदायसँग सहकार्य गरेर डुङ्गा सञ्चालन रोकिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तले”बताउनुभयो।

बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र पर्ने रमणीय ताल हो, जहाँ बर्सेनि ठुलो सङ्ख्यामा जल पक्षी चराहरू आउने गर्छन्। घुँगी फोड चराको वासस्थानका रूपमा चिनिन थालेको यो क्षेत्र पक्षी अवलोकन प्रेमीहरूका लागि विशेष आकर्षण बनेको छ।

स्थानीय समुदायले पनि चराको संरक्षणमा सक्रिय सहयोग गर्दै आएको छ। पोखरी संरक्षण र जैविक विविधताको प्रवर्द्धनका लागि यस्ता प्रयासहरू अझै सशक्त बनाइने समुदायले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.