सिँचाइ ड्याम अलपत्र, स्थानीयका लागि धराप बन्दै

दाङ – दाङको घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण भएको सिँचाइ ड्याम अलपत्र परेको छ ।
बृहत् दाङ उपत्यका सिँचाई आयोजनाले आर्थिक वर्ष २०७४÷७५ मा निर्माण गरेको गिठेपानी सिँचाइ ड्याम अलपत्र परेको हो । एक करोड रुपैयाँ खर्चिएर बनाईएको सिँचाइ ड्याम अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा गिठेपानी र फुर्सेकालीका करिब ३ सय घरधुरीका स्थानीय निराश बनेका छन् । बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले टेन्डर मार्फत निर्माण गरेको यो आयोजना हालसम्म पनि समुदायलाई हस्तान्तरण नगर्दा समस्या उत्पन्न भएको हो ।
ड्यामबाट पानी तान्नका लागि जडान गरिएको मोटरले काम नगर्दा सिँचाई सुविधा पाउनबाट आफूहरू वञ्चित हुनुपरेको गिठेपानी ड्याम जल उपभोक्ता संस्थाका सचिव दिनेश ओलीले बताउनुभयो । ‘हामीले सिँचाइ सुविधा पाउँ भनी वडा कार्यालय, उपमहानगरपालिकाको कार्यालय र बृहत् सिँचाइ कार्यालयमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भएन’ ओलीले भन्नुभयो ‘स्थानीय सरकारले हाम्रो योजना होइन भन्छ, स्थानीयसँग योजना सञ्चालन गर्ने क्षमता छैन ।’
सिँचाइका लागि निर्माण भएको ड्याम स्थानीयका लागि धराप बनेको छ । ड्याम क्षेत्रमा सुरक्षाको अभावका कारण हालसम्म तीन जनाको ज्यान गइसकेको स्थानीय अमरराज आचार्यको भनाई छ । ‘सिँचाइ ड्याममा राज्यको करोडौँ लगानी त्यत्तिकै खेर गइरहेको छ भने अर्को तर्फ नागरिकलाई सेवाभन्दा बढी जोखिम बढाएको छ’ आचार्यले भन्नुभयो ‘त्यसैले जिम्मेवार निकायबाट चाँडो समस्या समाधानका लागि आवश्यक कदम चाल्नुपर्छ ।’






प्रतिक्रिया राख्नुहोस्