संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं – प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक २०८० पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राखेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको बैठकले बहुमतले पारित गरेको हो ।

विधेयक पारित गर्नु अघि अमनलाल मोदी, जानर्दन शर्मा, कान्तिका सेजुवाल, प्रकाश ज्वाला, प्रभु साह, रञ्जुकुमारी झा, डा.अमरेशकुमार सिंह, चन्द्रकान्त भण्डारी, रामकृष्ण यादव, ज्वालाकुमारी साह, माधव सापकोटा, लेखनाथ दाहालले आफ्नो धारणा राख्नुभएको थियो ।

यस्तै, सांसद शेरबहादुर कुँवर, महेन्द्रबहादुर शाही, बासुदेव घिमिरे, ठाकुरप्रसाद गैरे, प्रेम सुवाल, रेखा शर्मा, रामप्रकाश चौधरी, नारायणी शर्मा, लिलानाथ श्रेष्ठ, चित्रबहादुर केसी, दिपा शर्मा लगायतले छलफलमा भाग लिनुभएको थियो ।

विधेयक पारित भएसँगै निजामती कर्मचारीको अन्तर प्रदेश सरुवाको बाटो खुला गरेको छ । सम्बन्धित प्रदेशको सहमतीमा पारिवारिक, स्वास्थ्यजन्य र विशेष कारणले कर्मचारीलाई राहत दिने उद्धेश्यसहित सरुवाको प्रावधान समेटिएको सरकारको भनाइ छ । अब स्थानीय तहका कर्मचारीले आफ्नो अनुकुल रहनेगरी अन्तर प्रदेश सरुवा गर्न पाउने भएका हुन् ।

यस्तै विधेयकले महिनै पिच्छे कर्मचारीको सरुवा हुने परिपाटीको अन्त्य गर्दै चक्रीय प्रणालीमा सरुवाको व्यवस्था मिलाएको छ ।

यस्तै विधेयकले कर्मचारीहरुको कुलिङ पिरियड २ वर्ष हुने व्यवस्था पनि गरेको छ । विधेयकले अतिरिक्त सचिवको व्यवस्था गर्दै सचिवालयस्तरमा कार्याभार व्यवस्थापन र नीतिनिर्माण प्रक्रियामा विकेन्द्रिकृत दक्षता विकास गर्न मद्दत पुग्ने विश्वास सरकारको छ ।

विधेयक २०८० सालको फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.