धान दिवसमा किसानले नेतासँग मागे मल

थानसिङ, नुवाकोट- असारको १५ अर्थात् रोपाइको चटारोले व्यस्त दिनमा आइतबार नुवाकोटको लिखुवेशीलगायत विभिन्न स्थानमा धान दिवस मनाइएको छ । धान दिवसमा सहभागी किसानहरूले अतिथिसँग रासायनिक मल उपलब्ध गराइदिन माग गरेका छन् ।
२२ औँ राष्ट्रिय धान दिवसका अवसरमा आइतबार महोत्सवकै आयोजना गरी किसानहरूले असारे भाका मिश्रित गीत गाउँदै र रमाइलो गर्दै रोपाइँको मेलो सक्ने काम गरेका छन् । नुवाकोटको लिखु, ढिकुरे, तुप्चे, थानसिङ, गेर्खुटार, वेलकोटगढी, मदानपुर, तादी, पञ्चकन्या, ककनीलगायतका स्थानमा धान रोप्दै महोत्सव गरिएका छन् ।
“धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता“ भन्ने नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी किसानहरूले प्रमुख अतिथि, अतिथिहरूलाई रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । किसानहरूले खाद्यान्न तथा तरकारी बालीमा राख्नका लागि रासायनिक मल पाउन नसकेको कार्यक्रममै गुनासो गरेका छन् ।
विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी अतिथिहरूले रासायनिक मलका लागि पहल गर्ने आश्वासन दिनुभएको छ। पूर्वी भेगमा रहेको लिखु गाँउपालिका ६ को थानसिङफांटमा किसान महासंंघ नुवाकोटले गरेको रोपाई कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्ययतामा धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।
केसीले किसानहरूको मलको समस्या समाधान गर्न सरकार क्रियाशील हुनु पर्ने बताउनुभयो । उहाँले किसानहरूले धान, अन्न तथा तरकारी बालीमा राख्न आवश्यक मल नपाउँदा कृषि प्रधान देश नेपालमा किसानलाई समस्या परेको र यसको समाधान सबै पक्षको सहकार्य वाट गरिनुपर्ने बताउनुभयो ।
कृषिमा आधुनिक यन्त्रउपकरणको प्रयोग गरेर उत्पादन बढाइँ युवा पलायन हुने कार्य रोक्नु पर्ने केसीको भनाई छ । कार्यक्रममा सहभागीहरूले किसानका माग समस्या समाधानका लागि सरकारले विशेष कार्य गर्नु पर्ने माग गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्