केचना–कञ्चनजङ्घादेखि सप्तकोसी– सगरमाथासम्म: कोसीका तीन पर्यटन कोरिडोरका गन्तव्य के हुन?

काठमाडौँ – वर्ष २०८२ लाई कोसी प्रदेश सरकारले ‘पर्यटन वर्ष’ घोषणा गरेर अभियानमा जोडिएको छ । पर्यटकहरूको सङ्ख्या यत्ति र उत्ति बढाउने भनेर केही तोकिएको छैन । प्रदेशमा पर्यटकीय माहौल बढाएर आगामी वर्षहरूमा कोसीको पर्यटकीय रोजगार र व्यापार वृद्धि गर्ने नै प्रमुख लक्ष्य भएको मुख्यमन्त्री हिकमतकुमार कार्की र पर्यटन मन्त्री सदानन्द मण्डलले बताउँदै आउनु भएको छ । उसो त कोसी सरकारको पहिलो घोषित ‘पर्यटन वर्ष’को कार्यक्रम यही नै हो । पर्यटकको सङ्ख्या बढाउने भन्दा पर्यटकीय माहौल र चहलपहल बढाउने उद्देश्य रहेकोले पर्यटन वर्षको निर्देशन समितिका सदस्य वासुदेव बराल जोड दिएर भन्नुहुन्छ, ‘यो पर्यटन वर्ष हो । भ्रमण वर्ष होइन ।’
कोसी सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका तीन पर्यटन कोरिडोरको प्रचारलाई तीव्र बनाएको छ । तीन कोरिडोरहरुमा केचनादेखि कञ्चनजङ्घासम्म, मोरङदेखि मकालुसम्म र सप्तकोसीदेखि सगरमाथासम्म रहेका छन् । यी कोरिडोरमा रहेका प्रकृति, संस्कृति र साहसिक गन्तव्य तथा गतिविधिहरूलाई कोसी सरकारले समेटेर पर्यटन प्रचार गरिरहेको छ । अब चर्चा गरौँ कोसी सरकारले राखेका तीन पर्यटन कोरिडमा कुन कुन गन्तव्यहरू समेटिएका छन् ।
केचना–कञ्चनजङ्घा कोरिडोरमा समेटिएका ३७ गन्तव्य

नेपालको सबैभन्दा होचो भूभाग कचनकवलदेखि विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घा समेट्ने आकर्षक प्याकेज हो केचना–कञ्चनजङ्घा कोरिडोर । यसमा कोसी सरकारले ३६ गन्तव्यहरू अटाएर प्रचार गरिरहेको छ । ती गन्तव्यहरूमा कचनकवल र कञ्चनजङ्घा हिमालबाहेकका अरू ३५ गन्तव्यहरूमा झापाका किचकवध, जामुनखाडी सिमसार, सताक्षीधाम, अर्जुनधारा जलेश्वर धाम, कृष्णथुम्कि छन् । इलामका गन्तव्यहरूमा सानो पाथीभरा, किरात पार्क चिसापानी, कार्सोङ ट्रेल, माङ्सेबुङ, श्री अन्तु, कन्याम, माइपोखरी, सन्दुकपुर छन् । इलामका अरू गन्तव्यहरूमा सिद्धिथुम्का, माङ्मालुङ, पानीटार, पाटेनागी समेटिएका छन् । पाचथरका गन्तव्यहरूमा सिलौटी, सेहोनाम्लाङ, अगेजुङ गुम्बा, कुम्ममायक कुसायक, सुम्हात्लुङ, साधुटार, फालोट, हिलिहाङ दरबार छन् । पाचथरका अरू गन्तव्यहरूमा जोरपोखरी, सुकेपोखरी र गुप्तेश्वर महादेव छन् । ताप्लेजुङबाट भने पाथीभरा, सिङ्जेमा ताल, दिकिछोयोलिङ गुम्बा, कुम्भकर्ण, कञ्चनजङ्घा संरक्षण क्षेत्र, तिम्बुङ पोखरी, फुङ्फुङ्गे झरना समेटिएका छन् ।
मोरङ– मकालु कोरिडोरका ३५ गन्तव्य


मोरङदेखि मकालुसम्मका ३५ गन्तव्यहरूमा मूलतः मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लाहरूका गन्तव्यहरू यो कोरिडोरमा समेटिएका छन् । मोरङ जिल्लाबाट विराट राजाको दरबार, धनपालगढि, सुनवर्सी पोखरी, बेतना सिमसार, जेफाले डाँडा समेटिएका छन् । सुनसरीका रामधुनी, तालतलैया, बर्जुताल, चतरा÷बराहक्षेत्र धाम, विजयपुर क्षेत्र, विष्णुपादुका, सेछ एडभेन्चर पार्क, श्रम संस्कृति पार्क, कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता गन्तव्यहरू छन् । धनकुटाबाट समेटिएका गन्तव्यहरूमा भेडेटार, नमस्ते झरना, नाम्चे गाउँ, राजा रानी ताल, ध्वजे डाँडा, छिन्ताङ जल्पादेवी, हिले बजार छन् । भोजपुरका हतुवागढि, टक्सार, सिल्पासिलिचुङ, चखेवा, मैयुङ डाँडा गन्तव्य सूचीमा अटाएका छन् । तेह्रथुमबाट तीनजुरे, चोलुङ पार्क, ह्यात्रुङ झरना अटाइएका छन् भने सङ्खुवासभाबाट सिद्ध काली, अरुण उपत्यका, किमाथांका, गुफा पोखरी, सभापखेरी र मकालु हिमाल छन् ।
सप्तकोसी–सगरमाथा कोरिडोरमा अटाएका ३७ गन्तव्य

उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला समेटिएको यो कोरिडोरका ३७ गन्तव्य छन् । उदयपुरका गन्तव्य तथा गतिविधिहरूमा प्याराग्लाइडिङ, जङ्गल सफारी, जेट बोट, कटारी बजार, लिमचुङबुङ एभरेस्ट भ्यु पोइन्ट, चौदण्डीगढि, ताप्ली पोखरी, रौता पोखरी, मैनामैनी र उदयपुर गडी छन् । खोटाङ जिल्लाका गन्तव्यहरूमा हलेसी, तुवाचुङ जयजुम, तुवाचुङ मिनी ग्रेटवाल, मजुवाकालिका भगवती, साप्सुधाप, जन्तेढुङ्गा, केपिलासगढि, बराह पोखरी, टेम्के डाँडा छन् ।
ओखलढुङ्गाका गन्तव्यहरूमा देम्बा डाँडा, पोकली झरना, चम्पादेवी, रुम्जाटार, सिद्धिचरण पार्क, ओखलढुङ्गा बजार छन् । यस्तै सोलुखुम्बुका समेटिएका गन्तव्यहरूमा पत्ताले, पिके डाँडा, नाम्चे बजार, दूध कुण्ड, पाँच पोखरी, मेका पिक, लुक्ला विमानस्थल, ल्होत्से, चो ओयू, सगरमाथा राष्ट्रिय निकुञ्ज, पासाङ ल्हामुको जन्मस्थान सुर्के र सगरमाथा छन् ।






प्रतिक्रिया राख्नुहोस्