किसानलाई आधुनिक उपकरण हस्तान्तरण

नुवाकोट- कृषि उपज उत्पादनमा जोड दिँदै नुवाकोटको विदुर नगरपालिकाका किसानहरूलाई आधुनिक कृषि उपकरण प्रदान गरिएको छ । यसबाट कृषि उत्पादनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।
विदुर नपा कृषि विकास कार्यालय नुवाकोटको साझेदारीमा विदुर ३ सिर्खालीमा ‘समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम’ अन्तर्गत कृषि यान्त्रीकरण सामग्री हस्तान्तरण गरेको हो । किसानहरूले कुल लागतको ८० प्रतिशत अनुदानमा सो उपकरणहरू पाएका हुन् ।
२७ जना किसानहरूलाई पेट्रोलबाट चल्ने हाते ट्याक्टर एक÷एक थान र १० जनालाई मकै गोड्ने मेशिन एक÷एक थान हस्तान्तरण गरिएको हो । किसानहरूलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।
आधुनिक उपकरणबाट किसानहरूले समय र श्रमको बचत गर्नुका साथै उत्पादनमा बढोत्तरी गर्न मेयर श्रेष्ठले सुझाव दिनुभयो ।
किसानहरूलाई उपमेयर प्रभा बोगटी, कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनाल, विदुर ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल लगायतले ‘समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम’ अन्तर्गत किसान प्रवर्द्धन भएको बताउनुभयो ।
किसानहरूले ८० प्रतिशत अनुदानमा कृषि उपकरण पाएका हुन् । कार्यक्रममा ‘समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम तरकारी खेती समिति’का पदाधिकारीलगायत स्थानीयवासी, किसान तथा सरोकारवालाको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्