महिलाहरूका लागि मकैको खोसेल्टाबाट हस्तकलाको विभिन्न सामाग्रीहरू तयार पार्ने तालिम

गोरखा – गोरखा सदरमुकामका महिलाहरूले घरमा त्यसै खेर गएको मकैको खोसेल्टाबाट हस्तकलाको विभिन्न सामाग्रीहरू तयार पार्ने तालिम लिएका छन् ।
उप–मेयर सबल नेतृत्व कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकाको आर्थिक सहयोग एवं ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँको प्राविधिक सहयोगमा हस्तकलाका सामाग्री बनाउने तालिम लिएका हुन् ।
३० जना महिला सहभागी भएको उक्त तालिम १ महिना अगाडिदेखि सञ्चालनमा आएको हो ।
गोरखा नगरपालिका–७ को नयाँ बजार क्षेत्रमा भएको उक्त तालिममा टोपी, ब्याग, पूजा थाली, ढकीयाँ तथा गिलास बनाउने सिप सिक्न पाएको स्थानीय सुमित्रा श्रेष्ठले बत्ताउनुभयो ।
‘घरमा त्यसै बसी रहेका थियौ’ उहाँले भन्नुभयो ‘नगरपालिकाको सहयोगमा सिप सिक्न पायौं । अब भने दुई पैसा जोहो गर्न सकिने भयो ।’
सामान्यतया पनि पहाडी क्षेत्रमा पाइने मकैको खोसेल्टा गाई बस्तुलाई खुवाउने वा कुहाएर मल बनाउने गरिन्छ । तर त्यही खेर गएको बस्तुबाट सिप सिक्न पाएकोमा खुसी देखिन्छिन् अर्का महिला वन्दना बसेल ।
‘हामीले दुई पैसाको लागी श्रीमानको अगाडी हात थाप्नुपर्ने थियो’ उहाँले भन्नुभयो ‘यो सिपले हामीलाई केही पैसा चाहिएको बेला अरू सँग हात थाप्नुपर्ने बनाएको छ ।’
सहभागीहरू महिलाहरूले स्थानीय स्तरबाट प्रति केजी १५० रुपैयाँ हालेर मकैका खोसेल्टे खरिद गरेर सिप सिक्दै आएका छन् ।
उता गोरखा नगरपालिकाकी उप–मेयर मसली माया थोकर पुनःले महिलाहरूलाई स्थानीय स्रोत र साधन, रोजगारीको सृजनाको प्रमुख आधार मान्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित तालिमको आयोजना गरेको बत्ताउनुभयो ।
‘अहिले पनि हाम्रो समाजमा महिलालाई दुई पैसा चाहियो भने अरूको मुख ताक्नु पर्ने अवस्था छ’ उहाँले भन्नुभयो‘यो अवस्थाको अन्त्य गर्न पनि यो सिकाइले मद्दत गर्ने छ ।’
तालिममा सहभागी एवं समूह बनाएर मकैको खोसेल्टाबाट उत्पादित हस्तकलाहरु बजारीकरण एवं खरिद गर्न ओम राजश्री मल्टी एग्रो प्रालि तयार रहेको पनि उप–मेयर पुनःले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्