समावेशी प्रणालीलाई निरुत्साहित गरिए जनता अन्यायमा पर्छन्ः सञ्चारमन्त्री गुरुङ

ललितपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गरिएमा जनता अन्यायमा पर्ने बताउनुभएको छ ।

ललितपुरको गोदावरीमा आज आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय पदाधिकारी एवं सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले नारामा मात्रै ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेर मात्रै नहुने बताउनुभयो ।

समृद्ध र सुखी नेपालीका लागि शान्ति, स्थिरता, सङ्घीय ढाँचाको समावेशी राज्य, अधिकारको बाँडफाँट, उनीहरुको आफ्नो प्रतिनिधित्व आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

समाजमा भाषिक समुदाय, जातीय समुदायबीच असमानता छ, सबैभन्दा बढी वर्गीय असमानता छ, बहुसंस्कृति मान्ने मुलुकमा समतामूलक समाज निर्माणका लागि सङ्घीयता चाहिएको हो भन्दै मन्त्री गुरुङले सबैलाई धार्मिक समानता र कुनै एउटा धर्मको पृष्ठपोषण गर्दा धार्मिक युद्ध हुने उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले सङ्घीय व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको निर्वाचन नभए विद्रोह हुन्छ भन्दै उहाँले सङ्घीय प्रणालीलाई व्यवस्थित बनाउन र विश्वास जगाउने गरी राजनीतिमा लाग्नुपर्छ भन्नुभयो ।

देशको एक तिहाइ जनसङ्ख्या भएको आदिवासी जनजाति समुदायलाई राज्यले नीतिनिर्माणको तहमा समेट्न नसकेको उल्लेख गर्दै उहाँले नेकपा (एमाले)ले यसमा ध्यान दिनुपर्छ भन्नुभयो ।

आदिवासी जनजातिको आन्दोलनलाई सही दिशामा डोर्‍याउन नसक्दा समस्या आएको उल्लेख गर्दै उहाँले जातीय जनसङ्ख्याका आधारमा प्रतिनिधित्वका लागि जोड दिनुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका अध्यक्ष पासाङ शेर्पाले समयमै महासङ्घको महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.