ब्याँस जोड्ने घोरेटो बाटो निर्माण कार्य अन्तिम चरणमा

दार्चुला- दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ ।
छाङ्गरुदेखि दुम्लीङसम्म घोरेटो बाटो निर्माण कार्यका लागि चालु आर्थिक बर्षमा नेपाल सरकारले शसर्त अनुदानमार्फत पाँच करोड ५० लाख रुपैँया बजेट विनियोजन गरेको थियो ।
ब्याँस गाउँपालिकाले २०८१ फागुन १३ गते बोलपत्र आह्वान गरेपछि मिसन देबहरी जेभी निर्माण कम्पनीले बाटो निर्माणको जिम्मेवारी पाएको थियो ।
गत जेठ महिनाको ५ गते गाउँपालिकासँग सम्झौता गरि व्याँस गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर २ को दुम्लीङ जोड्ने घोरेटो बाटोको अपीखोला, बुदी, गिरकिस्से, पोला, दोपखे, घाँटीबगर, माल्पा, कल्जु लगायतको अप्ठेरो क्षेत्रमा काम भईरहेको छ ।
मिसन देबहरी जे.भी. निर्माण कम्पनीले स्थानीयहरुलाई नै सो क्षेत्रमा बाटो निर्माणको जिम्मा दिएको थियो । अहिले पनि बाटो निर्माणको काम धमाधम भइरहेको छ । छाङ्गरु तिङ्करसम्म पुग्न अझै धेरै ठाउँमा बाटो मर्मत गर्नुपर्ने आवश्यक देखिएको छ ।






प्रतिक्रिया राख्नुहोस्