लोमाङ्थाङमा बाढी: तीनवटा काठे पुल बगायो, दुईवटा पक्की पुलमा क्षति
नदी आसपासका स्थानीयलाई सतर्क रहन आग्रह

म्याग्दी- हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित चिम्जुङखोलामा आएको बाढीले तीनवटा काठेपुल बगाएको छ ।
आज साँझपख एक्कासी चिम्जुङखोलामा आएको बाढीले तीनवटा काठेपुल बगाउनुका साथै दुईवटा पक्की पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
चिम्जुङखोलामा आएको बाढीका कारण वस्ती उच्च जोखिममा परेपछि त्यहाँका दुई घर परिवारलाई सुरक्षित स्थानमा सारिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार थप अर्को परिवारलाई सुरक्षित स्थानमा सार्नको लागि प्रहरीले पहल गरिरहेको छ । एउटा होटलका परिवार भने सुरक्षित स्थानमा गैसकेका छन ।
बाढीको कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यस्तै अहिले बाढी आएको चिम्जुङखोलामा पानीको वहाव घटेको छ ।
बाढी आएको क्षेत्रमा प्रहरीको टोली परिचालन भएको छ भने बाढीले पुर्याएको क्षतिको विषयमा विवरण सङ्कलन भैरहेको हुँदा थप विवरण पछि आउने प्रहरीले जनाएको छ ।
मुस्ताङ र तिब्बतको सिमानामा पर्ने मुस्ताङ हिमालको हिमताल फुटेर चिम्जुङखोलामा बाढी आएको हुन सक्ने अनुमान गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
लोमान्थाङ–४, छोन्हुपभन्दा माथिबाट आएको बाढी चिम्जुङखोला हुँदै तल छोसेरमा आएर कालीगण्डकी नदीमा मिसिएको छ ।
अहिले बाढी मुस्ताङको चराङ वस्तीभन्दा पनि तल आइसकेको हुँदा कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका मानव वस्तीलाई सुरक्षित रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।
बाढीका कारण कालीगण्डकी करिडोर अन्तर्गतको कोरला नाका जोड्ने पुलहरु जोखिममा परेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्