भरतपुर कारागारमा मौसमी रुघाखोकीको सङ्क्रमण, २२ कैदी बन्दी उपचारमा

भरतपुर — भरतपुरस्थित कारागार कार्यालयमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिन थालेको छ। हालसम्म २२ जना कैदी बन्दीमा लक्षण देखिएपछि उनीहरूलाई छुट्टै राखेर उपचार सुरु गरिएको छ।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार, मौसम को कारण र निरन्तरको वर्षाका कारण रुघा र ज्वरोको समस्या देखिएको हो। सङ्क्रमण अन्यत्र फैलिन नदिनका लागि सङ्क्रमितलाई छुट्टै राखी उपचारको व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभयो।
ढुङ्गानाले क्षयरोगी र अन्य दीर्घ रोगी बिरामीलाई समेत छुट्टै निगरानीमा राखिएको बताउनुभयो। कारागारभित्र रोग फैलन नदिन उच्च सतर्कता अपनाइएको उहााले जानकारी दिनुभयो। कैदी बन्दीहरूलाई व्यक्तिगत सरसफाइ, सफा खानेपानी र पोषणयुक्त खानामा विशेष ध्यान दिन आग्रह गरिएको छ।
कारागारको क्षमता ५०५ जनाको मात्र भए पनि हाल ७१६ जना कैदी बन्दी राखिएका छन्। तीमध्ये ४३ जना महिला र ६७३ जना पुरुष छन्। साथै, कारागारमा चार जना आश्रित बालबालिकासमेत छन्। क्षमताभन्दा बढी कैदी बन्दी भएकाले सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै सावधानी अपनाइएको अधिकारीहरूले जनाएका छन्।






प्रतिक्रिया राख्नुहोस्