छायामा हराएका तारा

छायामा हराएका तारा
मैले फेरि पनि,
कसैले केही भनिरहेको सुनेँ।
यो पहिलो पटक सुनेको कुरा थिएन,
तर—
भन्ने स्वर नयाँ थियो,
परिस्थिति पनि केही अलग।
शब्दहरू फरक थिए,
तर अर्थ उस्तै बगिरहेको थियो—
बेथिति र बेइज्जतीले भरिपूर्ण।
स्वास्थ्य क्षेत्रमा—
माननीय, विद्धान,
र अब्बल सोच बोकेका
व्यक्तित्वहरूको दृष्टिले
कोरिएको थियो एउटा चित्र।
रङ्गिन होइन,
विवेकको नाममा बनाइएको
एक मूक दृश्य थियो,
जहाँ
पोलिरहेको थियो—
मेरो मन,
र,
त्यसै मनले कोर्यो—
एउटा कल्पना।
एउटा यस्तो अस्पताल,
जहाँ—
मात्र डाक्टरहरू हुन्छन्।
न त नर्स,
न स्वास्थ्य सहायक,
न ल्याब टेक्निसियन,
न फार्मेसी,
न लेखा,
न व्यवस्थापन,
न सफाइकर्मी,
न अरू सहयोगी हातहरू।
किनभने—
“अस्पताल डाक्टरले नै चलाउँछन्,”
भन्ने सोचले बाँकी सबैलाई बनाउँछ—
छायामा हराएका पानाहरू,
अदृश्य र अप्रशंसित।
यदि माननीयको सोचले
नयाँ अस्पताल बनायो भने—
त्यो त नमूना अस्पताल बन्नेछ।
जहाँ सेवा लिन आउनेहरू—
विशेष वर्गका मान्यजन मात्र हुनु पर्नेछ।
उपचार पाएपछि
उहाँहरूले ताली बजाउनु हुनेछ—
जोर–जोरले।
किनभने त्यहाँ
उहाँहरूको कल्पना अनुरूप
सेवा दिएका हुन्छन् मात्र
विज्ञहरूले।
र—
गुमनाम स्वास्थ्य सेवा टिकाइरहेका
बाँकी कर्मचारी—
भए पनि ठिक,
नभए पनि के फरक ?
उनीहरू त केवल
विज्ञहरूको सामुन्ने
निम्न स्तरको शिक्षा अर्जन गरेका जागिरे—
जसको अभावलाई
महसुस गर्नै परेन।
“अस्पताल चलाउने त
अखिर डाक्टरले नै हुन्।”
तर—
यत्ति बुझिएन कि—
यस्तो बेथिति बोकेको सोचले निम्त्याएको रोग,
रोगभन्दा गम्भीर हुन्छ।
अझ यो चक्र यस्तै चलिरहने हो भने,
महामारीको रूप लिन्छ—
संवेदनाको महामारी
जहाँ—
एकको चमक हुन्छ,
र
बाँकी सबै अन्धकारमा हराउँछन्।
सेवा–सङ्गठनभित्र
त केवल सहकार्य हुने हो।
फरक पेसाका व्यक्तिहरूबिच
विशिष्टताको वर्गीकरण—
के–का आधारमार ?
मेरो चाहना त यत्ति हो—
एक्लो तारा होइन,
पूरै आकाशै चम्कियोस्।
सेवा समुहिक होस्,
र
सम्मान साझा होस्।
✍ दीपिका खड्का






प्रतिक्रिया राख्नुहोस्