भानुभक्तको जन्म घर अझै बन्न सकेन, भानु साहित्य उद्यानको लागि २० करोड विनियोजन

तनहुँ-  राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१२ औ जन्म जयन्ती देशभर धूमधामका साथ मनाइएको छ । आदिकविको जन्म जयन्ती मनाइरहँदा उहाँले बाल्यकाल बिताएको घर (भानु गृह) भने खण्डहर बनेको छ ।

२०६० सालमा आगलागीबाट जलेर नष्ट भएको आदिकविको घर हाल सम्म समेत निर्माण हुन नसक्दा देशबासीसहित साहित्य प्रेमीहरू समेत चिन्तित हुने गरेका छन् । साहित्यिक सम्पदाको रूपमा रहेको आदिकवि भानुभक्त आचार्यको जन्म घर पुनः निर्माणमा ढिलाइ हुँदा खण्डहर बनेको हो । भानु जन्मस्थलको संरक्षण र विकास गर्ने उद्देश्यले २०५२ सालमा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरिए पनि पर्याप्त बजेट नहुँदा काममा ढिलाइ भएको जनाएको छ ।

पश्चिमाञ्चल विकास मञ्चले भानुभक्तको घर (भानु गृह) निर्माण गर्ने जिम्मा लिए पनि  सुरक्षा लगायत विभिन्न कारण देखाउँदै घर निर्माणको काम नै सुरु गरेको छैन । अब पनि मञ्चले  भानु गृह निर्माण नगरे जन्मस्थलले नै निर्माण गर्ने तयारी रहेको आदिकवि भानुभक्त जन्मस्थल  विकास समितिका अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो । “पश्चिमाञ्चल विकास मञ्चले हामी निर्माण गर्छौँ भनेर हामीले कुरेको हो अब मञ्चले नबनाएको खण्डमा समितिले नै बनाउँछ,” उहाँले भन्नुभयो ।

भानु शिखर कटेरी गुरुयोजना निर्माण गरेको पनि एक दशक भन्दा बढी भइसक्यो । दुई करोड ६० लाखमा रामायण भवन निर्माण सम्पन्न भएको  छ । तर, अतिथि गृह, पालेर, पोखरी, पुस्तकालय लगायतका संरचना बनाउन कुनै सुरसार नै देखिन्न । भानु शिखर गुरुयोजना सम्पन्न हुन करिब २० करोड रुपैयाँ लाग्ने बताइए पनि रामायण भवन बाहेकका अन्य संरचना निर्माण हुन सकेको छैन ।

भानुभक्तको महत्त्वबारे सरोकारवालाले  चासो नदिँदा चुँदीरम्घा पछाडि परेको स्थानीय वसुन्धरा ढकालको भनाई छ । “देश विदेशमा आदिकविको ठुलो सम्मान छ तर स्थानीयले महत्त्व नबुझ्दा बत्तीमुनिको अँध्यारो भएको छ,” ढकालले भन्नुभयो ।

भानुको जन्मस्थललाई हालसम्म पनि साहित्यिक पर्यटकीय स्थलको रूपमा विकास गर्न नसक्नु चिन्ताको विषय भएको आदिकविका पनाति हरिनाथ आचार्यले बताउनुभयो ।

“भारतको सिक्किममा आदिकविको कति ठुलो भव्य संरचना निर्माण गरिएको रहेछ हाम्रो गाउँ कहिले त्यस्तो होला,” उहाँले भन्नुभयो । ढिलै भए पनि आगामी आर्थिक वर्ष भानु साहित्य उद्यानको लागि ठुलो बजेट विनियोजन भएको रहेछ अब संरचनाहरू बन्छ कि भन्ने आशा रहेको आचार्यको भनाई छ ।

भानु साहित्य उद्यान निर्माण गर्न २० करोड विनियोजन
भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सहरी विकास मन्त्रालय मार्फत आर्थिक वर्ष २०८२÷०८३ मा २३ करोड बजेट विनियोजन भएको आदिकवि भानुभक्त जन्मस्थल  विकास समितिका अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो ।

भानु साहित्य उद्यानको लागि २० करोड र सोही स्थानमा लिफ्टिङ्ग खानेपानी आयोजनाको लागि ३ करोड गरी २३ करोड बजेट विनियोजन भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

भानु साहित्य उद्यानको डिपिआर तयार भएको र गुरुयोजना समेत अन्तिम चरणमा पुगेको छ ।

गुरुयोजना अनुसार दुई अर्बको लागतमा १० वर्षभित्र भानु साहित्यिक उद्यान अन्तर्गत भानुभक्तको १०८ फिट अग्लो मूर्ति, सातै प्रदेशको पहिचान झल्कने सप्त धाम लगायतको विभिन्न पूर्वाधार निर्माणको तयारी रहेको श्रेष्ठले बताउनुभयो ।

जन्मस्थललाई सङ्घ सरकार मातहत राख्न अनुरोध
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई स्थानीय सरकार मातहत राख्दा राष्ट्रिय विभूतिकै अपमान हुने स्थानीयको भनाइ छ ।

तत्कालै स्थानीय सरकार मातहतमा रहेको जन्मस्थललाई सङ्घ सरकार अन्तर्गत राखेर राज्यले दायित्व लिनुपर्ने भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीको भनाइ छ । “राष्ट्रिय विभूति पालिकाको मात्रै हुँदैन देशकै गहना हो त्यसैले सङ्घ सरकारले विशेष प्राथमिकता दिनुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो ।

चुँदी रम्घालाई नेपाली भाषीको प्रमुख साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्न सकिने निकै ठुलो सम्भावना रहेको त्रिपाठीले बताउनुभयो ।

भानु जयन्तीमा राष्ट्रिय बिदा दिन माग
भाषिक एकतामा जोड दिने भानुभक्तको जन्म जयन्तीमा सरकारले  राष्ट्रिय बिदा दिनुपर्ने जिल्लावासीको भनाइ छ । व्यास नगरपालिका २ का स्थानीय  शिवहरी धितालले आदिकविको  जन्म जयन्तीमा देशभरै राष्ट्रिय बिदा दिनुपर्ने बताए ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य देशभरकै साझा व्यक्तित्व भएकाले देशभर नै भानु जयन्तीमा बिदा दिनुपर्ने भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.