सुनसरीमा दम्पती घरमै मृत फेला

 सुनसरी –  सुनसरी जिल्लाको इनरुवा नगरपालिका–९, बाबियामा एक दम्पती घरभित्र मृत अवस्थामा फेला परेका छन्। मृतकहरू ३५ वर्षीय शुकदेव शर्मा र उनकी २३ बर्सिया पत्नी सवेता खातुन हुन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब ९ बजेको समयमा स्थानीयले दम्पतीलाई आफ्नै फुसको घरमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले श्रीमान् शर्माको शव अर्धनग्न अवस्थामा झुन्डिएको र श्रीमती सवेता ओछ्यानमा मृत फेला परेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार प्रारम्भिक अनुसन्धानबाट श्रीमान्ले पत्नीको हत्या गरेर आफैँ आत्महत्या गरेको आशङ्का गरिएको छ। “घटनास्थलको अवस्थाले प्रारम्भिक रूपमा यस्तो देखाएको हो, तर हामीले घटनाबारे सबै कोणबाट गहिरो अनुसन्धान अघि बढाएका छौँ,” डिएसपी खतिवडाले बताउनुभयो।

प्रहरीका अनुसार सवेताको शरीरमा कुनै गम्भीर चोटपटकको देखावट छैन। घटनास्थलमा साडीको पासो प्रयोग गरिएको देखिएको छ।

हाल शवहरू पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाको वास्तविक कारण पुष्टि गर्न प्रहरीले विस्तृत अनुसन्धान जारी राखेको छ।

स्थानीय स्तरमा भने घटनाले स्तब्धता छाएको छ। दम्पतीबिच पछिल्लो समय घरेलु विवाद भइरहेको आशङ्का पनि गरिएको छ, यद्यपि प्रहरीले यसबारे आधिकारिक टिप्पणी गरेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.