राजनीतिक स्थायित्व,पूर्वाधारको विकास र सेवा प्रवाहमा सुधार

काठमाडौँ- संसदका दुई ठुला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता सहकार्यले एक वर्ष पुरा गरेको छ ।
गएको एक बर्षमा राजनीतिक स्थायित्व, सुशासन, भौतिक पूर्वाधारको विकास र आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् ।
दुई ठूला दलको सहमतिमा बनेको सरकारले राजनीतिक स्थिरताको सुनिश्चितता गर्दा विकास निर्माण र सेवा प्रवाहमा सुधार आएको छ । तर अझै पनि नागरिकमा रहेका निराशा चिर्दै आशा जगाउनु पर्ने चुनौती छ ।
सरकार गठनका बेला कठिन अवस्थामा रहेको देशको अर्थतन्त्रले नयाँ गति लिएको छ । लगानीमैत्री वातावरणका लागि गरिएका नीतिगत र कानुनी सुधारले निजी क्षेत्रको आत्मविश्वासमा वृद्धि भएको छ ।
अर्थतन्त्रको आकार ४ खर्वले बढेर ६१ खर्व पुगेको छ भने निर्यात र राजश्वमा ऐतिहासिक बृद्धी भएको छ । यसका अतिरिक्त अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार सञ्चालनको एक वर्षमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एक वर्षको अवधिमा राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताउदै “टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरूआत भएको छ” भन्नुभएको छ ।
यसैगरी सरकार सञ्चालनको एक वर्षमा नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएको उल्लेख गर्दै कानुन संशोधनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताउनुभएको छ ।
प्रधानमन्त्री लेख्नु हुन्छ “गर्नुपर्ने धेरै काम छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ” । गत असोजको प्राकृतिक विपत्ती र संविधान विरोधी गतिविधिको समेत सामना गर्दै राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार बलियो एकताका साथ उभिएको छ ।
सरकारको एकवर्षको कामलाई सत्तारुढ र विपक्षी दलहरुले पनि सकारात्मकरुपमा विश्लेषण गरेका छन् । तर नागरिक र विशेषत: युवा वर्गमा रहेको निराशा चिर्नुपर्ने चुनौती दुइ ठूला दलको सहमतिमा बनेको सरकारसंग रहेको छ ।

१ वर्ष अघि गठन भएको सरकारले विकास, सुशासन र समृद्धीलाई पहिलो प्राथमिकता बनाएको छ । त्यसैले सरकार गठन लगत्तै सवै मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्रीले संगै राखेर सेवा प्रवाह र विकासका कामलाई प्रभावकारी बनाउने विषयमा खुल्ला छलफल गर्नुभयो । “थालेको काम सक्ने हो” भन्ने प्रतिबद्धताका साथ प्रधानमन्त्रीले शुरु गर्नुभएको राष्ट्रिय गौरवका आयोजनाहरुमा उल्लेख्य प्रगति भएको छ ।
राष्ट्रिय योजना आयोगका अनुसार २६ वटा गौरवका आयोजना मध्ये ३ वटा सम्पन्न भएको छ । ८ वटाको प्रगति ५० प्रतिशत बढी छ । भौतिक पूर्वाधारका अन्य काममा उत्साहजनक प्रगति छ ।
एक वर्षको अवधिमा सातै प्रदेशमा क्यान्सर उपचार सेवाको सुविधा पुगेको छ । १० लाख किशोरीलाई एचभीपी खोप दिइएको छ । शिक्षा क्षेत्रमा एसइइको नतिजामा अहिले सम्मकै अभूतपूर्व उपलव्धी प्राप्त भएको छ । २०८० मा ४७.८६ रहेको उत्तिर्ण दर २०८१ मा ६१.८१ प्रतिशत भएको छ ।
किसानलाई दुग्ध र उखुको बक्यौता रकम भुक्तानीका साथै सामाजिक सुरक्षा कोषमा अनौपचरिक क्षेत्रको आवद्धता बढाउन पनि बढेको छ । उर्जाको अपार संभावना बोकेको नेपाल बंगलादेश सम्म विजुली निर्यात गर्न सफल भएको छ ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिएपनि त्यसले निरन्तरता भने पाउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट संयुक्त राष्ट्र संघको महासभा र स्पेनको वित्त सम्मेलनमा भएको सम्बोधनले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो उपस्थिति र मुद्धा स्थापित भएका छन्। प्रधानमन्त्रीकै शव्दमा नेपाल अन्तर्राष्टिय मञ्चमा देखिने र सुनिने भएको छ ।
गत मंसीरमा प्रधानमन्त्रीबाट भएको चीन भ्रमणका क्रममा दुइ देशबीच बेल्ट एण्ड रोड सहकार्य बीआरआइ फ्रेमवर्कमा हस्ताक्षर भयो । यसले नेपाल चीन विकास सहकार्यमा नयाँ ढोका खुल्ने अपेक्षा छ । नेपालको हित र विकासका लागि अन्तरर्राष्ट्रिय सम्बन्धलाई सन्तुलितरुपमा अघि बढाउन सरकार सफल भएको बिश्लेषण राजनीतिक बृत्तको छ ।
सरकारको एक वर्षको उपलव्धी उत्साहजनक रहेको तथ्याँकहरुले देखाउ छ । तर सरकारको कार्यशैलीमाथि प्रश्न उठिरहेकै छ । त्यसैले नागरिकमा रहेका निराशा चिर्दै आशा जगाउनु पर्ने चुनौती अझै पनि सरकार सामु छ ।





प्रतिक्रिया राख्नुहोस्