बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा सिसिटिभी जडान

मकवानपुर – सार्वजनिक सुरक्षा व्यवस्थालाई प्रविधिसँग जोड्दै बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा एक सय २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरी कार्यालयमार्फत जडान गरिएका क्यामेरा मङ्गलवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित एक समारोहका बिच आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सिसिटिभी प्रणालीको उद्घाटन गर्नुभयो। उहाँले जडान गरिएका क्यामेराबाट प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले प्रहरीका लागि नयाँ भवन निर्माण, पुराना भवनको संरचना सुधार तथा थप क्यामेरा जडानका लागि आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरुण पौडेलले प्रविधिको तीव्र विकाससँगै सुरक्षा चुनौती थपिँदै गएको उल्लेख गर्दै, त्यसलाई सम्बोधन गर्न प्रविधिको प्रयोग अपरिहार्य भएको धारणा राख्नुभयो । बागमती प्रदेशमा अझै २ सय ५० क्यामेराको आवश्यकता रहेको उहाँले बताउनुभयो । आगामी वर्ष थप एक सय वटा क्यामेरा जडान गर्ने तयारी रहेको समेत उहाँले जानकारी दिनुभयो ।
कुल दुई करोड ८४ लाख रुपैयाँको लागतमा जडान गरिएका क्यामेराहरू ३८ वटा युनिटबाट निगरानी गरिने व्यवस्था मिलाइएको छ। चितवनको नारायणगढ, सिन्धुलीको भिमान र मकवानपुरको रात माटेमा इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टम अन्तर्गत अत्याधुनिक एएनपीआर क्यामेरा र रडार प्रणाली जडान गरिएको छ। यी प्रविधिले राष्ट्रिय राजमार्गलगायतका प्रमुख नाकाहरूमा हुने आपराधिक गतिविधिको निगरानी, छिटो पहिचान र कारबाहीमा प्रभावकारी योगदान पुर्याउने अपेक्षा गरिएको वरिष्ठ प्रहरी उपरीक्षक एवम् प्रवक्ता सञ्जय सिंह थापाले बताउनुभयो ।
यी सिसिटिभी क्यामरामा ९० दिनको डाटा भण्डारण क्षमताका साथै विद्युत् अवरोधको अवस्थामा पनि प्रणाली सञ्चालनमा रहोस् भनी पावर ब्याक अपको व्यवस्था गरिएको छ।
सूचनाको एकीकृत प्रयोग र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन विगतमा जडान गरिएका क्यामेरालाई समेत एकीकृत निगरानी प्रणालीमा जोड्नुपर्ने प्रवक्ता थापाले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्