साँगुरी गढी गाउँपालिकाका ५ जना भूमिहीनलाई लालपुर्जा वितरण

धनकुटा- धनकुटाको साँगुरी गढी गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ ।
गाउँपालिकाले वडा नं ३ का ३ जना, वडा नं. ७ का १ जना र वडा नं. ९ का १ जना भूमिहीन सुकुम्वासीलाई प्रतिपरिवार सोमबार लालपुर्जा प्रदान गरेको हो । भूमि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाले साँगुरी गढी गाउँपालिकालाई हस्तान्तरण गरेपछि गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता पुर्जा वितरण गरेको हो।
लालपुर्जा पाएपछि भूमिहीनहरू खुसी भएका छन् । वडा नं. ३ का आइतमाया राई, कञ्चन माझी र सु नेत्र माझी लालपुर्जा पाउनु भएको हो।
यस्तै वडा नं. ७ का विष्णुकुमार राई र वडा नं. ९ का दुर्गाबहादुर राईले पनि पुर्जा पाउनु भएको हो।
लामो समयदेखि पुर्जा पाउने आसमा रहेको भए पनि अहिले आफ्नै पुर्जा प्राप्त हुँदा निकै खुसी लागेको आइतमायाले बताउनुभयो ।
लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै पूर्व खानेपानी मन्त्री राजेन्द्र राईले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगले देशभर अभियान चलाएको जनाउनुभयो ।
उहाँले भूमिहीनका समस्या समाधानका लागि भूमि आयोग धनकुटा र साँगुरी गढी गाउँपालिका गरेको यो सत्प्रयास अन्य पालिकाका लागिसमेत प्रेरक र अनुकरणीय भएको धारणा व्यक्त गर्नुभयो । उहाँले लालपुर्जाले भूमिहीनको आत्मसम्मान वृद्धिका साथै आत्मनिर्भर हुन मद्दत पुग्ने बताउनु भयो।
कार्यक्रममा प्रदेशसभा सदस्य निरन राई, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियो।






प्रतिक्रिया राख्नुहोस्