भारतीय सहयोगमा अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवन बन्दै

काठमाडौँ- भोजपुरको अरुण गाउँपालिकामा निर्माण हुन लागेको ‘अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन’को आज (मङ्गलवार) शिलान्यास गरिएको छ। अरुण गाउँपालिका अध्यक्ष सालिकराम खत्री र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।

नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको सो भवनको लागत करिब ३ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको छ। भवन तीन तले, हुनेछ जसमा कक्षा कोठा, शिक्षक कक्ष, बैठक कोठा, कार्यक्रम हल तथा छात्र-छात्राहरूका लागि छुट्टाछुट्टै शौचालय लगायतका आवश्यक संरचनाहरू समेटिनेछन्।

कार्यक्रममा वक्ताहरूले भारत सरकारद्वारा नेपालमा दिइँदै आएको विकास सहयोगको प्रशंसा गर्दै उक्त परियोजनाले भोजपुर क्षेत्रको शैक्षिक र सांस्कृतिक पूर्वाधार सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सन् २००३ यता भारत सरकारले नेपालभर ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ, जसमध्ये ९३ परियोजना कोसी प्रदेशमा परेका छन्।

यसबाहेक भारतले नेपालभरका स्वास्थ्य र शैक्षिक संस्थाहरूलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। भोजपुर जिल्लाले ७ वटा एम्बुलेन्स र एक वटा स्कुल बस प्राप्त गरिसकेको छ।

नजिकको छिमेकी भएको नाताले भारत–नेपालबिचको विकास सहकार्य गहिरो र बहु आयामिक छ। उच्च प्रभाव परियोजनाहरूले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा टेवा दिन भारत सधैँ तयार रहेको दूतावासले जनाएको छ ।

उक्त भवन निर्माण सम्पन्न भएपछि अरुण गाउँपालिकामा सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिहरू थप सशक्त हुने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.