मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना नियन्त्रणमा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ उक्त रकम घुस माग गरेको उजुरी निवेदनको आधारमा निजहरूलाई नियन्त्रणमा लिइएको हो ।”

आयोगको टङ्गालबाट खटिई गएको टोलीले कार्यालय प्रमुखकुमार आचार्यको साथबाट मोबाइल डिभाइस दुई थान र भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारीको साथबाट मोबाइल एक थान तथा कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल एक थानसहित घुस रकम २४ लाख ५० हजार रुपैयाँसमेत कार्यालयको परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

यसैगरी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलले सवारी चालक अनुमतिपत्रको अनलाइन फारम भरी दिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरी दिने भनी सेवाग्राहीसँग घुसबापत रकम माग गरेको अभियोगमा आजै नियन्त्रणमा लिइएको छ ।

आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज कार्यालय सहयोगी दीपक पौडेललाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.