चितवनमा रोपाहारको अभाव, रोपाईंमा मधेशका श्रमिकको भर

चितवन- रोपाईँको चटारो भएको चितवनमा सिंचाईले रोपाई गर्न तयार गरिएका खेतमा मजदुर पाउनै मुस्किल छ । वर्षातले यसपटक छिटो रोपाइँ हुन लागेपनि कामदारको अभाव छ ।
कृषि क्षेत्रमा श्रमशक्तिको अभाव हुन थालेपछि कृषक समस्यामा परेका हुन् । स्थानियले काम गर्न छोडेपनि मधेशका कामदारको भर पर्ने स्थिती छ । पूर्वि नेपालबाट आएका मजुदरले चितवनको कृषि कर्म धानेका छन् । विगतमा झैं कामदार पाइन छाडेको कृषकहरू बताउँछन् ।
भरतपुर-५ इन्द्रपुरीका कृषक दुर्गाप्रसाद अधिकारीले रोपाइँका लागि खेत तयार भएपनि रोपाहार पाउन मुस्किल भएको बताउनुभयो। ‘रोप्नलाई खेत तयार भयो, तर रोपाहार पाउन सकिएन । गाउँमा मान्छे छैनन्, मधेशबाट मजुदुर नआएसम्म काम गर्न गारो भएको छ,’ उहाँले भन्नुभयो, ‘आजभोली मान्छे नपाएर खेतीपाती गर्न कठिन छ ।’
पूर्वि नेपालको बारा, पर्सा, रौतहट, सिराहा सर्लाही, सिराहाबाट कामको खोजीमा मजदुर आउने गर्छन् । विउ काड्नेदेखी रोपाईको काम उनीहरुले नै गर्छन् । समूहमा आएर काम गर्नेले मनग्य कमाउने गरेका छन् । यसरी आउने मजदुरहरु जिल्लामा खोसाखोस हुन्छन् ।
रौतहटबाट समूहमा आएका रविन्द्र रामले कामका लागि माग बढेको बताउनुभयो । ‘सबैलाई काम सक्नु छ । हामीलाई पालो पुर्याउन हम्मे परेको छ,’ उहाँले भन्नुभयो, ‘खेत रोपाइँ नभएर धेरैले बोलाउन आउनुहुन्छ । हामीले पन्ध्र दिन काम गर्दा राम्रै कमाई हुन्छ ।’
मधेशबाट आएका मजदुरको माग बढ्दो छ । कृषकलाई पालो पुर्याउनै हम्मे परेको छ । युवा पुस्ता गाँउबाट पलाएन हुनु, कृषिमा यान्त्रिकरण भित्रिनु मजदुर अभावको मुख्य कारण हुन् ।
त्यसो त कृषिप्रतिको रुचि कम हुँदा पनि यस्तो समस्या आएको हो । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकमान कंडेलले रोपाइँमा मधेशका श्रमिकको भर पर्ने अवस्था आएको बताउनुभयो । ‘युवा विदेशिनु र कतिपयलाई कृषिकर्ममा रुचि नभएका कारण यो समस्या आएको हो,’ कंडेलले भन्नुभयो, ‘ स्थानियहरुले काम नगर्दा मधेशको भर पर्ने अवस्था आएको हो ।’
चितवनमा करिब २७ हजार ७०२ हेक्टरमा वर्षे धान लगाइन्छ । भने दश हजार हेक्टरमा चैते धानको खेती हुन्छ । खेती लगाउन र भित्र्याउन आधुनिक मेसिनको प्रयोग बढेको छ । तर यो पर्याप्त छैन । त्यसैले पनि कृषकहरु मजदुर नपाउने समस्या झेल्न बाध्य छन् ।






प्रतिक्रिया राख्नुहोस्