थोपा सिचाइमार्फत व्यावसायिक कृषि: प्रेम लामाको फार्म बन्यो प्रेरणादायी नमुना

काभ्रे – नमोबद्ध नगरपालिका वडा नं. ९, डाँडाबेशीका कृषक प्रेम लामा व्यावसायिक कृषि र पशुपालनमा लागेका एक प्रेरणादायी पात्र बनेका छन् ।

“प्रेम बाटिका बहुउद्देश्यीय फार्म” का सञ्चालक समेत रहेका लामाले कृषि विकास कार्यालय काभ्रेको सहयोगमा आफ्नो फार्ममा १,६०० भन्दा बढी बिरुवामा ‘थोपा सिचाइ’ प्रविधि प्रयोग गरी नियमित पानी उपलब्ध गराउँदै आएका छन् ।

लामाले कृषिमा डेढ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् । हाल उहाँले सुन्तला, कफी, कागती, बोधि चित्त, एभोकाडो लगायतका थुप्रै फलफूल तथा बहु वर्षीय बिरुवाको खेती गर्दै आएका छन् । उहाँले ३० वर्षअघि ५ रोपनी जमिनमा १४० बोट सुन्तला लगाएर सुरु गरेको आज व्यावसायिक फार्ममा रूपान्तरण भएको छ ।

प्रेम लामाले कृषिमा लगानी र सम्भावना देखिएको भए तापनि आधारभूत पूर्वाधारको अभावमा थप कठिनाइ हुने बताउनु हुन्छ । सडक, बिजुली, सिँचाइ जस्ता अत्यावश्यक संरचनामा सरकारले सहजीकरण गरे युवालाई व्यावसायिक कृषिमा आकर्षित गर्न सहयोग पुग्ने बताउनु हुन्छ ।”

सरकारी अनुदानबाट हालसम्म करिब १३ लाख रुपैयाँ प्राप्त गरेका लामाले थप नीतिगत र संरचनागत सहयोग भएमा उत्पादन र रोजगारी दुबैमा उल्लेखनीय वृद्धि हुन सक्ने बताउनु हुन्छ ।

लामाले हालै थप विभिन्न जातका ८ सय बिरुवा रोपेका छन् । फार्ममा नर्सरीदेखि उत्पादन र बजारसम्मको सम्पूर्ण प्रक्रिया व्यवसायिकरूपमा सञ्चालन हुँदै आएको छ । फार्म स्टे, पशुपालन, र औषधीय बिरुवाको व्यवस्थापन पनि फार्मको अर्को पाटो हो । उक्त फार्ममा हाल दैनिक चार जनाले स्थायी रोजगारी पाएका छन् । उहाँका परिवारका सदस्यहरू समेत फार्ममै सक्रिय छन् ।

कृषि विकास कार्यालयका कृषि इन्जिनियर रामप्रसाद अधिकारीले काभ्रे र सिन्धुपाल्चोकका विभिन्न फार्महरूमा यो वर्षदेखि ‘थोपा सिचाइ’ प्रविधिको प्रयोग सुरु गरिएको बताउनु भयो । थोपा सिचाइ कम बजेटमा उच्च प्रभाव दिन सक्ने प्रविधि भएकाले कृषि विकास कार्यालयले साझेदारीमा कार्यक्रम अगाडि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.