पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रसुवा – अठसट्ठी प्रतिशत तामाङ समुदायको बसोबास रहेको हिमाली जिल्ला रसुवा पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ ।
रसुवाका पाँच वटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता प्रक्रिया पूरा भए पछि जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।
बागमती प्रदेशको १३ जिल्ला मध्ये रसुवा सँगै काठमाडौँ र नुवाकोट पनि सोमबार पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा भए सँगै १३ ओटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्लास्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भयो । यसअघि विभिन्न मितिमा जिल्लाका ५ वटै तहलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जनस्वास्थ्य कार्यालय प्रमुख झम प्रसाद आचार्यले बताउनुभयो ।
कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए ।
कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मान समेत गरियो भने सो अवसरमा पूर्ण खोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्