दाङमा पौने ३ अर्बको तरकारी उत्पादन, ६९ करोडको निर्यात

दाङ — चालु आर्थिक वर्षको ११ महिनामा दाङमा कुल २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ बराबरको तरकारी उत्पादन भएको छ। ७ हजार ६६३ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १ लाख ११ हजार टन तरकारी उत्पादन भएको हो।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार २०८१ साउनदेखि २०८२ जेठसम्मको अवधिमा जिल्लाबाट ६९ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कुल २७ हजार ७ सय ७८ मेट्रिक टन तरकारी निर्यात भएको छ। उक्त परिमाण जिल्लामा उत्पादन भएको तरकारीको करिब २५ प्रतिशत मात्र हो ।
मुख्य रूपमा दाङमा गोलभेँडा, काँक्रा, काउली, बन्दा, सिमी, बोडी र भेडे खुर्सानी उत्पादन हुने गरेको छ। यहाँ उत्पादित तरकारी पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, कृष्ण नगर, महेन्द्रनगर, धनगढी र नारायणगढसम्म पुग्ने गरेको छ ।
प्रविधिको प्रयोगसँगै व्यावसायिक खेतीमा युवाको आकर्षण बढ्दै गएकाले उत्पादन पनि क्रमशः वृद्धि भएको ज्ञान केन्द्रको निष्कर्ष छ। “जिल्लामा धेरै क्षेत्रफलमा तरकारी खेती गर्न सकिने सम्भावना छ। यसको सदुपयोग गर्न सके निर्यात वृद्धि गर्न सकिन्छ,” प्रमुख भण्डारीले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्