कुलो निर्माणमा आफैं जुटे मन्थलीका किसान

रामेछाप- एक महिना अगाडि रणजोर खोलामा आएको बाढीले कुलो बगाएपछि सिंचाई सुबिधाबाट बन्चित रामेछापको मन्थली नगरपालिका वडा नं १ का किसानहरु अहिले उक्त कुलो निर्माणमा आफैं जुटेका छन् ।
खोलाले कुलो बगाएपछि रोपाईं गर्न नपाएका किसानहरु शनिबारबाट आफैं कुलो निर्माणमा जुटेका हुन् । रोपाईं गर्न ढिला हुन थालेकाले आफुहरु श्रमदान गरेर नै कुलो निर्माणमा जुटेको मन्थली १ मदौका किसान बिष्णु सुवेदीले बताउनु भयो । अहिले उक्त कुलो निर्माणका लागि १ सय २० परिवारका किसानहरु श्रमदान गर्न जुटेका छन् ।
खेतको सतहभन्दा करिब ३ मिटर गहिरो बनाएर कुलो बगाएपछि सिंचाईको अभावमा रोपाईं गर्न नसकिएपछि श्रमदान गरेरै भएपनि कुलो निर्माणका लागि गाउँका सवैजना जुटेको मन्थली १ कि किसान उर्मिला सुवेदी बताउनु हुन्छ ।

गाउँका महिला र पुरुष सवै भेला भएर श्रमदान गरी कुलो चलाउनका लागि आफुहरुले टन्टलापुर घाममा ढुंगा बोकेर श्रमदान गरेको किसान गोपी भुजेल बताउनु हुन्छ । उहाँले कुलो बगाउने गरी असाढ महिनाको पहिलो सातामा आएको बाढीले आफ्नो खेत समेत सवै बगाएको बताउनु भयो ।
खोलाले बगाएर रणजोर खोला किनारको खेतका फाँटहरुमा सिंचाई सुबिधा नभएपछि किसानहरुलाई आफुले सहयोग गर्ने बचत दिएको मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले बताउनु भयो ।
असार महिनाको पहिलो साता रणजोर खोलामा आएको बाढीले कुलो बगाएपछि उक्त कुलोबाट सिंचाई हुँदै आएको करिब ४ सय रोपनी खेतमा अहिले रोपाईं हुन सकेको छैन । गाउँका १ सय २० परिवारका सवै जना अहिले कुलो निर्माणका लागि श्रमदानमा जुटेका छन् ।






प्रतिक्रिया राख्नुहोस्