देशभरका करिब १ दर्जन राजमार्ग अवरुद्ध, सतर्क भएर यात्रा गर्न आग्रह

काठमाडौँ- मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।

सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, तमोर करिडोर सडकखण्ड, मध्यपहाडी लोकमार्ग अवरुध्द रहेको प्रहरीले जनाएको छ । यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, बाग्लुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम–लोमान्थाङ सडक, रोल्पास्थित शहीद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच लगातारको वर्षा र सम्भावित प्राकृतिक विपद्‌को जोखिमलाई मध्यनजर गर्दै स्याङ्जा जिल्लामा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला सुरक्षा समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ईश्वरि प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले स्याङ्जा र छिमेकी जिल्लाहरूमा हालको मौसमी पूर्वानुमानअनुसार अझै भारी वर्षा हुने सम्भावनालाई गम्भीरतापूर्वक लिँदै आज साझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्मको लागि यो निर्णय गरेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.