तिमाङ खोलामाथि बेली ब्रिज

 मनाङ-  हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ पावरहाउसस्थित तिमाङ खोलामा बेली ब्रिज निर्माण गरिएको छ ।

यातायात तथा सामग्री ढुवानीलाई सहज बनाउने उद्देश्यले बेली ब्रिज निर्माण गरिएको हो । ४० टन भार बहन गर्न सक्ने क्षमता भएको बेली ब्रिज ३० मिटर ४५ सेन्टिमिटर लम्बाइ र ४ मिटर २० सेन्टिमिटर चौडाइको छ । उक्त बेली ब्रिज सडक विभागको सहयोगमा हेटौँडाबाट ल्याएर जडान गरिएको डुम्रे–बेसी सहर–चामे सडक आयोजनाका सब–इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जडान र ढुवानीको काम मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले गरेको हो । प्राविधिक सहयोग डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले गरेको हो ।” यही असार १६ गतेबाट सुरु गरिएको बेली ब्रिज जडान कार्य सकिएको उहाँले बताउनुभयो । अघिल्लो बेली ब्रिज बाढीले बगाएपछि राखिएको काठको पुलमार्फत सवारीसाधन र स्थानीयवासी तथा पर्यटक वारपार गर्दै आएका थिए ।

नयाँ बेली ब्रिज जडान भएपछि मनाङवासी र यहाँ आउने कर्मचारी तथा पर्यटकलाई आवतजावतमा सहज भएको उहाँले बताउनुभयो । मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले सो स्थानमा बेली ब्रिज निर्माण गरेपछि स्थानीय, पर्यटक तथा सवारीसाधन आवागमनमा सहज भएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।

“निर्माण सम्पन्न भइसकेको छ । अब सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।  ३० मिटर ४५ सेन्टि मिटर लम्बाई र चार मिटर २० सेन्टिमिटर चौडाइको बेली ब्रिज निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सो बेली ब्रिज निर्माणपश्चात् वर्षाको समयमा आउने बाढी र पहिराबाट ग्रसित मनाङवासी अब माथिल्लो मनाङसम्म सहजै यात्रा गर्न सकिनेछ ।” विगतका वर्षमा बाढी र पहिरोबाट पाएको दुःखलाई दृष्टिगत गर्दै भौतिक पूर्वाधार मन्त्रालयबाट रकम निकासा गरी निर्माणाधीन मर्स्याङ्दी जलविद्युत् आयोजनाको सहयोगमा बेली ब्रिज जडान गरिएको प्रजिअ आचार्यले बताउनुभयो ।

उहाँले विगत वर्षमा काठको अस्थायी पुल रहेको र बाढी पहिरो भेलसँगै बगाएपछि मनाङवासीलाई आवतजावतमा समस्या भोग्नु परेकाले बेली ब्रिज बनाइएको बताउनुभयो । उक्त बेली ब्रिज पुल औपचारिक रूपमा उद्घाटन नगरिए पनि प्रयोग गर्न मिल्ने अवस्था भएको छ । बेली ब्रिज निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजता भएको स्थानीय नलबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “ बेली ब्रिज राखेपछि सास्तीबाट मुक्त भएका छौँ । जस्तो भेल आएको बेलामा पनि पार गर्न सक्छौँ ।”

चामे गाउँपालिका–१ का वडाध्यक्ष खड्कजङ्ग गुरुङले विशेष गरी माथिल्लो मनाङ आवतजावतमा सबैलाई यसले सहज बनाएकोमा खुसी व्यक्त गर्नुभयो । बेली ब्रिज निर्माणपछि यस पुलमार्फत निर्माणाधीन मर्स्याङ्दी जलविद्युत आयोजनाको सवारीसाधन निर्बाध रूपले सञ्चालनमा आएका छन् ।

बेली ब्रिज सञ्चालनमा आएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको समन्वयमा मनाङको तिमाङ खोलामाथि बेली ब्रिज निर्माण गर्न सफल भएको हो ।

उहाँले भन्नुभयो, “विगतदेखि नै मनाङमा यात्रालाई सहज बनाउने प्रयासरत छौँ । सहज यात्रा बनाउनका निम्ति भौतिक तथा पूर्वाधार मन्त्रालय, डुम्रे–बेसी सहर सडक आयोजना र मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सहयोगले बेली ब्रिज निर्माण गर्न सफल भएका छौँ । यसले सहज भएको छ ।” पक्की सडकको पहुँचमा पुर्‍याउने लक्ष्य पुरा गर्नेतर्फ लागिपरेका सांसद गुरुङले बताउनुभयो ।

विसं २०७८ जेठ १४ र असार १ मा आएको बाढीले तिमाङ खोलामाथि निर्माण गरिएको मोटरेवल पुल बगाएको थियो ।

त्यसपछि आवतजावतका निम्ति काठेपुल निर्माण गरी यातायात सञ्चालन गरिएको थियो । बेलिब्रिज सञ्चालनमा आएपछि बेसीसहरदेखि मनाङसम्मको यात्रा थप सहज डुम्रे–बेसी सहर–चामे सडक आयोजना लमजुङका सव–इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो ।

विसं २०८१ असार १७ र १८ मा आएको बाढीले उक्त स्थानमा निर्माण गरिएको काठेपुल बगाउँदा माथिल्लो सदरमुकाम र तल्लो मनाङ क्षेत्रको आवतजावत अवरुद्ध भएको थियो । उक्त स्थानमा पुनः काठेपुल निर्माण गरेर यातायात सञ्चालन भइरहेको थियो । बेलिब्रिज बनेपछि यातायात तथा पैदलयात्रुलाई सहज हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.