गौशालामा ठेक्का विवादले उग्र रूप लिँदा झडप, ४ जना घाइते

 महोत्तरी-  महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गोरु बजारको ठेक्कालाई लिएर उत्पन्न विवादले झडपको रूप लिँदा चार जना घाइते भएका छन्।

सोमबार बिहान दुई पक्षबिच भएको उक्त झडपमा स्थिति केही समय अत्यन्त तनावपूर्ण बनेको थियो। झडपमा वडा नं. २ का अध्यक्ष श्याम कुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोले वडा अध्यक्ष मण्डल र यादवलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको गौशाला अस्पताल स्रोतले जनाएको छ। स्थानीयहरूका अनुसार गोरु बजारमा दुई पक्ष — गौशाला नगरपालिका र निगौल गाई गौशाला — दुवैले ठेक्का लगाएको कारण ठेक्का रकम उठाउने विषयमा विवाद चर्किएको थियो।

सोमबार ठेक्का रकम सङ्कलनको प्रयासका क्रममा भनाभन बढ्दै गएर हात हालाहाल भएको हो। घटना नियन्त्रणका लागि प्रहरी बल परिचालन गरिएको थियो। अहिले बजार क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ र अवस्था सामान्य रहेको छ। यस विषयमा गौशाला प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.