सुर्खेतका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहसँगै कर्मचारी पुरस्कृत

सुर्खेत – सुर्खेतका क्रियाशील उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले गएको आर्थिक वर्ष २०८१÷०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी पुरस्कृत गरेको हो । पुरस्कृत हुने वन समूहतर्फ राम जानकी सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर नगरपालिका–५ प्रथम, लाम पोखरी सामुदायिक वन उपभोक्ता समूह गुर्भाकोट नगरपालिका–१३ द्वितीय तथा औल्झायमा सामुदायिक वन उपभोक्ता समूह सिम्ता गाउँपालिका–३ तृतीय भएका छन् । पुरस्कृत हुने वन समूहका पदाधिकारीलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो ।
यसै गरी, गएको आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीतर्फ डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत सुनिलकमल कँडेल, फरेष्टर इच्छाबहादुर भण्डारी र वन रक्षक डम्मरबहादुर गाहा, चौकीदार जङ्गबहादुर बुढालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । उत्कृष्ट वन समूह तथा कर्मचारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठ, वन निर्देशक गणेश त्रिपाठी, डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासङ्घ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानी, नेपाल वन प्राविधिक सङ्घ कर्णाली प्रदेश अध्यक्ष शेरबहादुर परियार, सचिव रोजिना श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुखहरू कल्पना खत्री, र दीपेश केसी र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका निर्देशक रेणुका न्यौपानेले अबिर, खादासँगै सम्मान पत्रले सम्मान गर्नु भएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले अरूलाई सामान्य जस्तै देखिए पनि उच्च मनोबलका साथ काम गरिरहेका कर्मचारी तथा वन उपभोक्ता समूहलाई भने यस्ता प्रकारका प्रोत्साहन तथा सम्मानले थप ऊर्जा थपिने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले नियमितरुपमा हुँदै आइरहेको कार्यक्रमअन्तर्गत यस वर्ष पनि सम्मानको कार्यक्रम आयोजना गरिएको बताउँदै वन, जङ्गल क्षेत्र र वन्यजन्तु जनावर तथा पशुपंक्षीहरुको संरक्षणमा थप ध्यान दिन आवश्यक रहेको औँल्याउनु भयो ।
उहाँले सामाजिक न्याय, सुशासन सहितको दिगो वन व्यवस्थापन मार्फत वन क्षेत्रको उत्पादकत्व तथा वन पैदावारको उत्पादनमा वृद्धि गरी ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को अपेक्षा पुरा गर्न वन कार्यालय निरन्तर जुटेको बताउनु भयो । डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतको कार्यक्षेत्र भित्र २ सय ७२ वटा सामुदायिक वन रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्