सिमेन्ट उद्योगको खानीका कारण खेत बगरमा परिणत, ६० परिवार प्रभावित

दाङ — धान रोप्ने समयमा दाङका अधिकांश ठाउँमा खेतबारी हरियालीले ढाकिएको छ। तर, बंगलाचुली गाउँपालिका–६ रिभानकी किसान तिलका डाँगी भने आफ्नो बगरमा परिणत भएको खेत हेरेर चिन्तित हुनुहुन्छ । वर्षौँदेखि खेती गर्दै आएको उनको खेत सिमेन्ट उद्योगको खानीबाट बग्ने ढुङ्गा–गिट्टीले पुरिएर अब बाली उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको छ। “पहिला यही खेतमा धान, गहुँ, मुसुरो फलाएर घर चल्थ्यो, अहिले त बगर बनेको छ,” डाँगीको गुनासो छ।

डाँगी मात्र होइन, गाउँका अन्य किसान पनि यस्तै पीडामा छन्। घोराही सिमेन्ट र सम्राट् सिमेन्ट उद्योगको खानीबाट बगेका ढुङ्गा र गिट्टीले दाङबाङ खोला थुनेपछि खोलाको बहाव परिवर्तन भएको र त्यो सिधै खेतमा पस्दा जमिन खेतीयोग्य नबसी बगरमा परिणत भएको उनीहरू बताउँछन्।

“माथिबाट ढुङ्गा गिट्टी झर्दा खेतमा केही पनि लगाउन सकिन्न,” अर्का किसान खिमप्रसाद महराले भन्नुभयो, “हिउँदमा गहुँ, मुसुरो अनि बर्खामा धान लगाउँथ्यौँ, अब त सबै सकियो।”

स्थानीय किसानका अनुसार रिभान गाउँका ६० परिवारको करिब १ सय ५० रोपनी जमिन अहिले बगरमा परिणत भइसकेको छ। जमिन क्षति भएपछि परिवार पाल्नसमेत समस्या परेको उनीहरूको गुनासो छ।

उनीहरूले पटक पटक गाउँपालिकामा उजुरी गरे पनि हालसम्म ठोस निर्णय नभएको किसानको आरोप छ। बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले उद्योगसँग छलफल भइरहेको बताउनुभयो।

पीडित किसानहरूले लालपुर्जाको आधारमा सिमेन्ट उद्योगले मुआब्जा दिनुपर्ने माग राख्दै आएका छन्। खेतीयोग्य जमिन गुमाएका उनीहरूका लागि अहिले रोजगारी र खाद्य सुरक्षाको चुनौती थपिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.