४३ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस चितवनद्वारा रक्तदान कार्यक्रम

चितवन – नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री महामानव बि.पी. कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति, चितवनको संयोजनमा आज साउन ५ गते सोमवारका दिन एकैसाथ तीन वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूमा वृहत् खुल्ला रक्तदान कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । नेपाली काँग्रेस चितवनको स्वीकृत वार्षिक कार्य योजना अन्तर्गत सञ्चालन गरिएको उक्त रक्तदान कार्यक्रममा कुल २७४ युनिट रगत सङ्कलन भएको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
कार्यक्रम बिहान ७:१५ बजेबाट सुरु गरिएको थियो, जसअन्तर्गत क्षेत्र नं. १ अन्तर्गत खैरहनी नगरपालिका–८, पर्सा बजारमा सम्पन्न कार्यक्रममा १०८ युनिट, क्षेत्र नं. २ अन्तर्गत भरतपुर–१० स्थित केन्द्रीय अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा ६० युनिट, र क्षेत्र नं. ३ अन्तर्गत भरतपुर–१४, शिवनगरस्थित वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा १०६ युनिट रगत सङ्कलन गरिएको छ ।
यस कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटी चितवन, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, भरतपुर केन्द्रीय अस्पताल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, पत्रकार, समाजसेवी र स्थानीय जनसमुदायको उल्लेखनीय साथ र सहयोग रहेको थियो ।
नेपाली काँग्रेस चितवनले यस पुनीत अवसरमा आफ्नो अमूल्य रगत दान गरी मानवीय सेवामा समर्पित हुनु भएका सम्पूर्ण रक्तदाता महानुभावहरूप्रति कृतज्ञता प्रकट गर्दै उहाँहरूको योगदानलाई उच्च सम्मान जनाएको छ ।
त्यसै गरी कार्यक्रमको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने नेपाली काँग्रेसका तीनै क्षेत्रीय कार्यसमिति, पार्टीका नेता तथा सदस्यहरू, प्राविधिक तथा संस्थागत सहयोगी निकायहरू, साथै आम नागरिकप्रति पार्टीले विशेष आभार व्यक्त गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत काँग्रेस चितवनले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिँदै पार्टीले आगामी दिनमा पनि सामाजिक सेवा तथा जनकल्याणकारी गतिविधिमा अझ बढी सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्