दुई दिन अघि मात्र खुलेको स्याफ्रुबेसी-रसुवागढी सडक पुनः अवरुद्ध

रसुवा- दुई दिन अघि मात्र खुलेको स्याफ्रुबेसी रसुवागढी सडक पुनः अवरुद्ध भएको छ । पासाङल्यामु राजमार्ग अन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशी बजारस्थित क्लबडाँडामा हिजो राति देखि परेको अबिरल वर्षाका कारण पहिरो जाँदा सडक भासिएर अवरुद्ध भएको हो ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा पासाङ ल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी हुँदै काठमाण्डौ जाने तथा काठमाण्डौबाट धुन्चे हुँदै स्याफ्रुबेशीतर्फ आउने साना तथा ठूला सवारी साधन दुवैतर्फ रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
अबिरल बर्षाका कारण सो स्थानमा थप पहिरो जान सक्ने भएकाले सवारी आवागमन रोकिएको रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनुभयो । स्थानीय बासिन्दा तथा लाङटाङतर्फ आवतजावत गर्ने पर्यटकहरु पनि प्रभावित भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्