तनहुँमा आर्थिक वर्ष २०८१÷०८२ मा सवारी दुर्घटनाबाट ६२ जनाको मृत्यु

तनहुँ – तनहुँमा आर्थिक वर्ष २०८१÷०८२ मा सवारी दुर्घटनाबाट ६२ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार गत आर्थिक वर्षमा ६२ वटा सवारी दुर्घटनामा ६२ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ७६ जना गम्भीर र ४३ जना सामान्य घाइते भएका हुन् । ६२ दुर्घटना मध्ये दुई पाङ्ग्रे सवारीसाधन मात्रै ४१ र चार पाङ्ग्रे, ट्रक लगायतका अन्य सवारीसाधन २१ वटा रहेको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा ३९ सवारी दुर्घटनामा २२ जनाको मृत्यु र ५० जना गम्भीर घाइते भएका थिए । आर्थिक वर्ष २०८०÷०८१ तुलनामा २०८१÷०८२ मा ४० जना बढीको मृत्यु भएको हो । २०८१ भदौ ७ गते भारतीय पर्यटक बोकेको सवारी दुर्घटनामा एकै पटक २९ जनाको मृत्यु भएको थियो । उक्त कारणले पनि दुर्घटनाको सङ्ख्या बढेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर चन्द बताउनुभयो ।
त्यस्तै गत आवमै ६२ दुर्घटना मध्ये ३९ दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ । मुग्लिङ पोखरा सडक विस्तार अन्तर्गत बाटो चौडा भएपछि तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढेको पाइएको ट्राफिक प्रहरी तनहुँका प्रमुख चन्दको भनाई छ । सवारी दुर्घटना कम गर्न तीव्र गतिमा सवारी चलाउनेलाई सचेतना तथा कारबाहीलाई पनि तीव्र पारिएको उहाँले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्