पढाइको लागि विद्यालयमै बास

दाङ – बंगलाचुली गाउँपालिका–७ घोसखोलाकी १४ बर्सिया सुस्मिता राना विद्यालयकै खाली कक्षामा बसेर पढ्दै आएकी छन् ।
सरस्वती माध्यमिक विद्यालय जबरकोटमा कक्षा १० मा अध्ययनरत राना यसअघि घरदेखि दैनि ३ घण्टा हिडेरै विद्यालय आउने गर्थिन्, तर दैनिक थकाइले पढाई निकै असर गरेपछि अहिले विद्यालयमै बसेर अध्ययन थालेकी हुन् ।
घरदेखि टाढा बस्न मन छैन,’ उनले भनिन्, ‘तर आउन–जान समय धेरै लाग्छ, बाटोमा जङ्गल पर्छ। साथीहरूसँग मिलेर विद्यालयमै बस्न थालेका छौँ।’ उनका अनुसार विद्यालय आउँदा करिब तीन घण्टा र फर्किँदा साढे दुई घण्टा समय लाग्ने गर्छ । कोठा भाडामा लिएर बस्दा खर्च धेरै हुने भएकाले विद्यालयकै खाली भवनमा बसेर पढ्न थालेको उनले बताइन्।
विद्यालयले नयाँ भवन निर्माण गरेपछि बाँकी रहेका केही पुराना कोठा विद्यार्थीलाई निःशुल्क बस्न दिएको छ। विद्यार्थीहरूले घरबाट चामल, तरकारी, नुनलगायत सामग्री ल्याएर आफैँ पकाएर खाने गरेका छन्।
सुस्मिता जस्तै घोसखोलाकै नौ बर्सिया प्रकृति उचा मगर पनि विद्यालयमै बसेर कक्षा ६ मा पढ्दै आएकी छन्। पाँच कक्षासम्म गाउँमै पढ्न सकिए पनि त्यसपछि अर्को वडाको विद्यालय जानुपर्ने भएपछि उनी पनि विद्यालयमै बस्न बाध्य भएको बताउँछिन्।
‘सानै उमेरमा घर छाडेर बस्न गाह्रो लाग्छ,’ उनले भनिन्, ‘तर पढ्नको लागि यति त गर्नै पर्छ।’
शिक्षकहरूकै पनि यस्तै बाध्यता छ। टाढाबाट आउने शिक्षकहरू पनि विद्यालयमै बसेर पढाउने गरेका छन्। ‘हामी मात्र होइन, शिक्षक–शिक्षिकाहरू पनि यही बस्नुहुन्छ,’ सुस्मिताले भनिन्, ‘त्यसैले बस्न सजिलो भएको छ।’
शिक्षक विजय खरेलका अनुसार हाल घोसखोलाकै सात जना विद्यार्थी विद्यालयमै बस्छन् भने अन्य केही आफन्तकोमा बसेर पढ्छन्। बर्खे बिदा अघि थोरै विद्यार्थी मात्र विद्यालयमै बस्ने गरे पनि चिसो मौसम सुरु भएपछि ४०–४५ जना विद्यार्थी विद्यालयमै बस्न थालेका छन्।
‘दिन छोटो हुने, जङ्गलको जोखिम हुने र वार्षिक परीक्षाको तयारीका लागि पनि विद्यार्थीहरू विद्यालयमै बस्न थाल्छन्,’ शिक्षक खरेल भन्छन्, ‘हामीकहाँ माध्यमिक तहसम्म पढाइ हुने यो एउटै विद्यालय भएकाले घरबाट आउन जान बालबालिकालाई अप्ठेरो हुन्छ।’
१२ कक्षासम्म पढाइ हुने सरस्वती माध्यमिक विद्यालयमा हाल चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। भौगोलिक चुनौतीबिच पनि पढाइप्रति प्रतिबद्धता देखाउने यी बालबालिकाको सङ्घर्षले शिक्षा अधिकारको वर्तमान अवस्था झल्काउँछ।






प्रतिक्रिया राख्नुहोस्