तनहुँको म्याग्दे–१ मा अपाङ्गता भएकी नबिनालाई घरमै पुगेर नागरिकता प्रदान

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी अपाङ्गता भएकी नबिना खनाललाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । जन्मजात शारीरिक अपाङ्गता भएकी २० बर्सिया नबिनालाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
नबिनाको नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण विवरण तयार गरी कार्यालयमै हस्ताक्षर तथा छाप गरी प्रमाणीकरण गरेको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी स्वयं घरमै पुगेर प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । नागरिकताको प्रमाणपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, “नागरिकहरूलाई छिटो, छरितो र सहज रूपमा सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो ।
नबिनाजस्तो शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयमा आउन कठिन हुने भएकाले हामी आफैँ घरमै पुगेर सेवा उपलब्ध गराएका हौँ ।” सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यले कार्यालयले विशेष आवश्यकताका आधारमा यस प्रकारको ‘घरमै सेवा’ अभियान अगाडि बढाएको प्रजिअ अधिकारीको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्