विपदको समयमा विश्वासिलो सूचना प्रवाह गर्न सचिव अर्यालको आग्रह

काठमाडौँ- विपदको समयमा विश्वासिलो सूचना प्रवाहलाई प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना मन्त्रालयमा आयोजित विपद् पूर्व सूचना सञ्चार र प्रसारण विषयक छलफलमा सचिव अर्यालले विपद्को समयमा सूचनाको महत्व सामान्य अवस्थामा भन्दा धेरै हुने भएकाले सूचनालाई भरपर्दो विश्वसनीय बनाउन सम्बद्ध सबै पक्ष संवेदनशील र सक्रिय बन्नुपर्ने बताउनुभयो ।
विपद सूचना प्रणालीमा आवश्यक सुधारका पक्षहरूबारे समीक्षा गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र बिबिसी मिडिया एक्सनको संयुक्त आयोजनामा भएको छलफलमा सचिव अर्यालले विपद्को पूर्व सूचना प्रसारणलाई प्रभावकारी बनाउन मन्त्रालयले समन्वय गर्ने पनि बताउनुभयो ।
कार्यशालामा सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समिति सदस्य एवं सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीले पूर्व सूचना प्रणाली मार्फत विपद्को जोखिम ३० प्रतिशतसम्म कम गर्न सकिने अध्ययनहरूले देखाएको उल्लेख गर्नुभयो ।
अन्तर्राष्टिय टेलिकम्युनिकेशन युनियन आइटियुका कारेन उ, जलवायु बिज्ञ डाक्टर पपुलर जेन्टल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव अनुप नेपाल र बिबिसी मिडिया एक्सन नेपालका देशीय निर्देशक शोभना प्रधान लगायतले सवैका लागि विपद्पूर्व सूचना र पिलर थ्रीका रुपमा रहेको सूचना सञ्चार र प्रसारण तथा यसमा रहेका अन्तरबारे प्रकाश पार्नुभयो ।
कार्यशालामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,जल तथा मौसम विज्ञान विभाग लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनीधिहरको सहभागिता रहेको थियो ।
सन् २०२७ सम्ममा संसारका सबै नागरिकसम्म पूर्व सूचनाको पहुँच पुर्याउने संयुक्त राष्ट्र संघीय घोषणा अनुरुप सवैका लागि पूर्व सूचना अभियान सञ्चालित छ ।






प्रतिक्रिया राख्नुहोस्