उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

चितवन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज यहाँ आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो । त्यसरीनै हामी हिँड्न जरुरी छ ।” बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उहाँले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले थप्नुभयो, “कांग्रेसीको मनभित्र भएको भय बिपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो । यो पूरा गर्ने जिम्मेवारी तपाई हामीकै हो ।” अहिले भएको परिवर्तन बिपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उहाँले यसलाई जगाई राख्न सक्नुनै बिपीको सच्चा अनुयायी भएको बताउनुभयो ।
उहाँले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यौँपछि नहट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजतन्त्र, गणतन्त्रदेखि लोकतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाएको छ ।” जिम्मेवारीका हिसाबले कांग्रेस सही ठाउँमा रहेको बताउँदै उहाँले बिपीको विचारसहित गरेका कामहरूको प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रको एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो । कांग्रेस एक हुँदा विपक्षी कमजोर बन्ने भन्दै उहाँले देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको छ भन्ने आभास तल्लो तहमा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू उमा रेग्मी, मधु आचार्य, टेकप्रसाद गुरुङ, अञ्जनी श्रेष्ठले कांग्रेस बिपीको विचारअनुसार हिँड्न युवाहरू अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, तरुण दलका केन्द्रीय सदस्य निर्मल पौडेल, नेपाली कांग्रेस चितवनका प्रवक्ता ज्ञानेन्द्र कार्कीलगायतले बिपीको योगदानबारे चर्चा गर्नुभयो ।
विसं २०७७ मा निर्माण सुरू गरिएको बिपी स्मृति भवनका आज औपचारिक रूपमा उद्घाटन गरिएको हो । स्व मैयादेवी श्रेष्ठले प्रदान गरेको १५ कट्ठा जग्गामा रु ६६ लाख ३५ हजारको लागतमा भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.