मकवानपुरको मनहरी गाउँपालिकामा बाली बिमा कार्यक्रम सुरु

मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले कृषि क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बाली बिमा कार्यक्रमको औपचारिक थालनी गरेको छ । गाउँपालिकाले बुधवार वडा नम्बर ७ बाट यो कार्यक्रमको सुरुवात गरेको हो ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगरको उपस्थितिमा आयोजित एक कार्यक्रममा बाली बिमा कार्यक्रमको शुभारम्भ गरिएको हो । अध्यक्ष कालाखेतीले हाललाई धान बालीबाट सुरु गरिएको यो कार्यक्रमलाई क्रमशः अन्य अन्नबाली र तरकारी बालीमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । “जोखिम कम गर्न र कृषि उत्पादन बढाउन यो कार्यक्रम ल्याएका हौँ,” उहाँले भन्नुभयो, “यो कार्यक्रमले किसानहरूलाई ठुलो राहत दिने विश्वास छ।”

उपाध्यक्ष सीता पुलामी मगरले किसानहरूले कीरा, रोग र प्राकृतिक प्रकोपका कारण भोग्नुपरेको नोक्सानीलाई मध्यनजर गर्दै बाली बिमा कार्यक्रम लागू गरिएको बताउनुभयो । “ धेरै किसानहरूले अप्रत्याशित रूपमा बालीमा क्षति व्यहोर्नुपरेको छ, यो कार्यक्रमले उहाँहरूलाई आर्थिक रूपमा सुरक्षा प्रदान गर्नेछ,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले यो कार्यक्रम वडा नम्बर ७ बाट सुरु गरेर क्रमशः ९ वटै वडामा विस्तार गर्ने तयारी गरेको छ । किसानहरूलाई बिमा कम्पनीसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गर्न गाउँपालिकाले वडा कार्यालयहरूमै बिमा आवेदन लिने व्यवस्था मिलाएको छ ।
बाली बिमा कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको छ । गाउँपालिकाले एक हप्ताअघि नै धान बालीको बिमा गर्न इच्छुक किसानहरूका लागि सूचना जारी गरेको थियो ।

बिमाको कुल रकमको ८० प्रतिशत सङ्घीय सरकारले अनुदान दिनेछ भने बाँकी २० प्रतिशत किसानले तिर्नुपर्ने हुन्छ । तर, गाउँपालिकाले विपन्न किसानहरूको हकमा उक्त २० प्रतिशत रकम पनि आफैँले व्यहोर्ने घोषणा गरेको छ । यसले विपन्न किसानहरूलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ । खेती गरिएको बालीमा विभिन्न कारण जस्तै प्राकृतिक प्रकोप, रोग, कीरा आदिका कारण हुने हानी नोक्सानीबाट हुने आर्थिक क्षतिको निराकरणका लागि गरिने बिमालाई बाली बिमा भनिन्छ । यो निर्जीवन बिमा अन्तर्गत पर्दछ । नेपालमा २०६९ साल माघ १ गतेदेखि औपचारिक रूपमा बाली बिमा सुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.