तोकिएकै समय भित्र बजेट कार्यान्वयन गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको वार्षिक समीक्षा तथा तथा कार्य योजना तर्जुमा गोष्ठीका सहभागीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नरहोस् भनेर समयमै र परिणाममुखी ढङ्गले कार्यान्वयन गर्नु आवश्यक रहेको औँल्याउनु भयो ।
हामीले विगतमा के–कस्ता कमजोरी गरेका थियौँ, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनु पर्ने बताउँदै उहाँले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा पारदर्शिता, जबाफदेहिता र समन्वय हुनुपर्नेमा पनि जोड दिनु भयो ।
योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण कार्य जस्ता चुनौतीहरूको पुनरावृत्ति नहुने वातावरण बनाउन सचिव र कार्यालय प्रमुखलाई उहाँले निर्देशन दिनु भयो ।
जनताको आवश्यकता बुझेर योजना बनाए मात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने भन्दै उहाँले सङ्घीय, स्थानीय तह, मन्त्रालय, आयोजना कार्यान्वयन एकाइहरू बिचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउने हो भने मात्र सरकारले गरेको विकासको जनताले अनुभूति गर्ने दाबी गर्नु भयो ।
कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख, जिल्लाका कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।
Akash






प्रतिक्रिया राख्नुहोस्