रोयल ट्युलिप चितवन द्वारा अल-डे-डाइनिङ रेस्टुरेन्ट “माझी घर” को शुभारम्भ

चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा अवस्थित पाँच तारे होटल रोयल ट्युलिप चितवनले अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘माझी घर’को शुभारम्भ गरेको छ।
लुभर होटल्स ग्रुप अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालित रिसोर्ट, रोयल ट्युलिप चितवनले आज मात्र आफ्नो नयाँ अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘द माझी घर’ को सौम्य सुरुवात (सफ्ट ओपनिङ) को घोषणासगैं शुभारम्भ गरेको हो। सौराहा रहेको यो रिसोर्टको आगमनले यस क्षेत्रमा भोजन र आतिथ्य सत्कारको नयाँ मापदण्ड स्थापित गर्ने यसको सञ्चालक कम्पनीको लक्ष्य छ। माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित ‘माझी घर’ ले न्यानो र आमन्त्रित वातावरण प्रदान गर्ने केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर साहले बताउनुभयो।
‘यहाँ पाहुनाहरूले स्थानीय विभिन्न प्रकारका परिकारहरूको आनन्द लिन सक्छन्। स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय दुवैको अनुभव प्रदान गरेर चितवनको आतिथ्य परिदृश्यलाई समृद्ध बनाउन हामी प्रतिबद्ध छौँ’ अध्यक्ष साहले भन्नु भयो, ‘यही असोजदेखि होटल पनि भव्यताका साथ सुरु गर्नेछौँ।’
चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित यस रिसोर्टमा ६५ वटा सुन्दर कोठा र भिलाहरू छन्। ४ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू रहेका छन्। रिसोर्टमा पाहुनाहरूले स्पा, फिटनेस सेन्टर, पौडी पोखरी र माझी घर, फरेस्ट फ्लेम, माचान (एक घुम्ने डेक) र जीवन्त तनावी स्पोर्टस् बारमा विविध भोजन अनुभव जस्ता विश्व–स्तरीय सुविधाहरूको आनन्द लिन सक्छन्।
प्रकृतिको सुन्दरता र जङ्गली जनावरका अवलोकन जस्ता कुराहरूले कहलिएको सौराहामा क्षेत्रीय पर्यटनलाई बढवा दिन, स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र चितवनमा विलासिताका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने प्रयास स्वरूप रिसोर्ट सुरु गरेको साहको भनाइ छ। “रोयल ट्युलिप चितवनले नेपालको पर्यटन उद्योगलाई सुदृढ पार्न, स्थानीय अर्थतन्त्रलाई सहयोग गर्न र सौराहाका स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ’ रिसोर्टका महाप्रबन्धक सचिन शर्माले भन्नु भयो,“दिगो विकासप्रति प्रतिबद्ध रोयल ट्युलिप चितवनले इन–हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग जस्ता पहलहरू सुरु गरेको छ, जसले १०० भन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्ने छ।”





प्रतिक्रिया राख्नुहोस्