गढवाका वडा अध्यक्षको घर–आँगनबाट ५८ क्विफिट काठ बरामद

दाङ–दाङ गढवा गाउँपालिका–७ का वडा अध्यक्ष राहुलदेव चौधरीको घर–आँगनबाट चिरानी गर्दै गरिएको अवस्थामा ५८ क्विफिट काठ बरामद गरिएको छ । वडा अध्यक्षको संलग्नतामा अवैध काठ चिरानी भइरहेको गोप्य सूचनाका आधारमा सब डिभिजन वन कार्यालय गढवा, इलाका प्रहरी कार्यालय गढवा र सशस्त्र वन रक्षकको संयुक्त टोलीले छापा मारेको थियो । वडा अध्यक्षको घर–आँगनमै साल र जङ्गली जातको सिसौ काठ चिरानी भइरहेको अवस्थामा उक्त काठ बरामद भएको सब डिभिजन वन कार्यालय गढवाका सहायक वन अधिकृत यमप्रसाद गैरेले जानकारी दिनुभएको छ ।
वडा अध्यक्षको घर–आँगनबाट चिरानी काठ बरामद भएको पुष्टि डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले पनि गर्नुभएको छ । उहाँले काठ चिरानीमा संलग्न सबै व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । बरामद गरिएको काठ सब डिभिजन वन कार्यालय गढवामा राखिएको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा वडा अध्यक्ष राहुलदेव चौधरीको फोन उठेको छैन ।






प्रतिक्रिया राख्नुहोस्