भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा छजनाको मृत्यु

हरिद्वार-  भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

हिन्दूधर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् ।

“छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ,” शहरका वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलले एएफपीलाई बताउनुभयो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको बताउनुभएको छ ।

“यस विषयमा म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर अनुगमन भइरहेको छ,” उहाँले भन्नुभयो।

धार्मिक चाडहरूमा घातक भागदौड र भीडभाडका कारण यस्ता दुखद् घटना हुने गरेका छन् ।

गत जुन महिनामा तटीय राज्य उडिसामा एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका थिए ।

अघिल्लो महिना पश्चिमी राज्य गोवामा एक लोकप्रिय अग्नि लिएर गरिने पैदल अनुष्ठानको लागि हजारौं मानिसहरू भेला भएका बेला घटेको यस्तै घटनामा तीन जनाको मृत्यु भएको थियो।

जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.