बाँदर–बदेलको आतङ्क र प्रशासनिक माग लिएर अर्घाखाँचीका प्रतिनिधिले भेटे गृहमन्त्री

काठमाडौँ – बाँदर र बदेलको आतङ्कबाट अर्घाखाँचीका स्थानीयवासीले भोग्नुपरेको दीर्घकालीन समस्या समाधानका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन्।जनसरोकारका विषयमा लगातार चासो राख्दै आएको कांग्रेस अर्घाखाँचीले यसपटक वन्यजन्तु नियन्त्रण र शीतगंगा नगरपालिका–४ स्थित ठाडामा इलाका प्रशासन कार्यालय स्थापनाको मागलाई लिएर गृहमन्त्रीसँग औपचारिक छलफल गरेको हो।
प्रतिनिधिमण्डलले ठाडामा इलाका प्रशासन कार्यालय स्थापनाबारे यसअघि गरिएको आग्रहको अवस्था गृहमन्त्रीसँग जानकारी लिएको र जवाफमा गृहमन्त्री लेखकले सम्भवत: १५ दिनभित्रमा ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुने जानकारी दिएको लुम्बिनी प्रदेश काँग्रेस सहमहामन्त्री विष्णु मुस्कान खनालले जानकारी दिनु भयो ।
भेटमा गृहमन्त्री लेखकले बाँदर र बदेल नियन्त्रणका लागि दीर्घकालीन रूपमा कानुनी संशोधन आवश्यक रहेको र अस्थायी समाधानका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उक्त प्रतिनिधिमण्डलको नेतृत्व नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले गर्नु भएको थियो । प्रतिनिधिमण्डलमा, लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, शीतगंगा नगरपालिकाका मेयर छविलाल पौडेल, उपमेयर गीता भाट, पूर्व मेयर सूर्यप्रसाद अधिकारी, कांग्रेस काठमाडौँ सम्पर्क समितिका अध्यक्ष डा. मुक्ति राम श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ताराप्रसाद श्रेष्ठ, महिला सङ्घ केन्द्रीय सदस्य सीता भुसाल, जिल्ला सदस्य रेमाकला खत्री, किसान महासंघ अर्घाखाँची अध्यक्ष राजेन्द्र क्षेत्री, युवा नेता हरि पौडेल, खिम अधिकारीलगायतको उपस्थिति थियो।






प्रतिक्रिया राख्नुहोस्