सहिद मार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक

दाङ- सहिद मार्गको रोल्पा खण्डमा रातिको समयमा सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ। जिल्ला सुरक्षा समितिको शनिवार बसेको आकस्मिक बैठकले भदौ १५ गतेसम्म यो निर्णय लागू गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार सहिद मार्गसहित ग्रामीण भेगका भित्री सडकमा बेलुका ६ बजेदेखि बिहान ५:३० बजेसम्म कुनै पनि प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। उक्त निर्णय शनिवार रातिदेखि नै लागू गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार लगातारको वर्षाले सडक अवरुद्ध हुने क्रम बढेको र पहिरो तथा ढुङ्गा खसेर दुर्घटना हुने जोखिम उच्च रहेकोले यस्तो निर्णय गर्नुपरेको हो। “सहिद मार्गको अधिकांश भाग जोखिमयुक्त भएकाले रातको समयमा सवारी रोक्दा जनधनको क्षति हुनबाट जोगिन सकिन्छ” प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो ।

यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडीलाई भने विभिन्न स्थानमा रहेका प्रहरी इकाइका अधिकारीको स्वीकृतिपछि सञ्चालनको अनुमति दिइनेछ।

यो निर्णयबाट सहिद मार्ग हुँदै दाङ, राजधानी, रुकुम र रोल्पा आवतजावत गर्ने रात्रि बस प्रभावित भएका छन्। साथै, दाङको घोराहीदेखि रोल्पाको होलेरी, नुवागाउँ, गैरीगाउँ, घर्तीगाउँ, दुईखोली, कुरेली, थबाङ हुँदै रुकुम पूर्वसम्म निर्माणाधीन सडक खण्डमा साना तथा ठुला सवारीको आवागमन पनि रोकिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.