`जनताले अनुभूति गर्ने गरी गुणस्तरीय सेवा र पारदर्शिता सुनिश्चित गरौँ´:मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न स्पष्ट निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रमलाई सोमबार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले समपूरक, विशेष र सशर्त अनुदानको बजेट यथासमय कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिँदै बहु वर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । `साल बसाली योजनामा रकमान्तर नगर्नुहोस् । धेरै पहाड भत्काएर काम गर्नुको सट्टा आवश्यकताअनुसारको डिजाइन र यथार्थपरक स्टिमेट तयार गर्नुहोस्´ मुख्यमन्त्रीले भन्नुभयो ।

उहाँले कालोपत्रे सडकभन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिनुभयो । जनघनत्वको आधारमा योजना छनोट र स्टिमेट तयार पार्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्त्व बढाउन आग्रह गर्नुभयो । समीक्षा कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक तथा प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.