घरको ढोका खुला राखेरै १६ जना बेपत्ता, मोबाइल ‘ट्राकिङ’ कार्य जारी: प्रजिअ भुसाल

सिन्धुली- सिन्धुलीको गोलन्जोर-६ को छेत्पा गाउँ नजिकैको एउटा घरबाट वेपत्ता भएका १६ जनाको अवस्था अझै अज्ञात छ ।
गत शुक्रवारदेखि छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जनाको परिवारै सम्पर्क विहीन भएको र अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको सिन्धुलीका प्रमुख जिल्लाअधिकारी दिनेश सागर भुसालले नेपालटिभीअनलाई जानकारी दिनुभयो ।
सिडिओ भुसालका अनुसार वेपत्ता भएका उनीहरुको घरको ढोका खुल्ला छ । र पशुपंक्षीहरु पनि गोठ र खोरमा नै रहेका छन ।
घरको ढोकासमेत नलगाइ बेपत्ता भएकाले अवस्था असहज र गम्भीर बनेको उहाँको भनाइ छ ।
स्थानीयबाट वेपत्ता भएको खबर पाउनासाथ अहिले एसपीको नेतृत्वमा नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रजिअ भुसालले बताउनुभयो ।
उहाँले अहिले मोबाइल ‘ट्रयाकिङ’को काम भइरहेको जानकारी पनि दिनुभयो । प्रजिअ अधिकारीका अनुसार उनीहरुको परिवारको एक जना सदस्यले बोकेको फोनको लोकेशन रामेछापमा देखिएपनि एकिन हुन सकेको छैन ।
गोलञ्जोर-६ सिन्धुली सदरमुकामदेखि करिव ५० किलोमिटर टाढा पर्दछ ।।






प्रतिक्रिया राख्नुहोस्