मदन भण्डारी फाउण्डेशनको अंग्रेजी जर्नलमा प्रधानमन्त्रीको लेख– जबजबारे के के छन् कुरा ?

काठमाडौँ – शनिवार काठमाडौँमा मदन भण्डारी फाउन्डेसनले आफ्नो अङ्ग्रेजी भाषाको जर्नल सार्वजनिक गर्यो । ‘स्टेट, सोसाइटी एन्ड डिभेलपमेन्ट’ नामक जर्नलको तेस्रो अङ्क अरू अङ्क जस्तो गुमनाम नभएर धूमधाम सार्वजनिक भयो । कार्यक्रममा प्रमुख अतिथि भएर पुग्नु भयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । जर्नलका लेखकहरूका अतिरिक्त एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जर्नलमा बोल्दै जर्नलभित्रै रहेर चर्चा गर्नुभयो । फाउन्डेसन अध्यक्ष उषा किरण भण्डारीले मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद ९जबज०को ‘प्राज्ञिक क्षेत्रमा मुलधारीकरण’को लागि अङ्ग्रेजी भाषामा जर्नल निकाल्न थालिएको बताउनु भएको थियो । जर्नलको तेस्रो अङ्कमा विभिन्न १० लेख छन् । १० लेखकहरूमा सबैभन्दा पहिलो लेख प्रधानमन्त्री केपी शर्मा ओलीको छ । चीनका लागि पूर्व नेपाली राजदूत तथा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले सम्पादकीय नेतृत्व लिएको जर्नलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कोणमा नभएर नेकपा (एमाले)का अध्यक्षको रूपमा लेखमा आफूलाई चिनाउनु भएको छ भने इमेल ठेगानामा पनि दलकै डोमेन राखिएको छ ।
प्रधानमन्त्रीको लेख भित्र के छ?
सन्दर्भ सामाग्रीहरूको सूचीसहित हेर्दा प्रधानमन्त्री ओलीको लेख १४ पेजको छ । लेखको शीर्षक ‘जनताको बहुदलीय जनवाद र वामपन्थी आन्दोलनको लोकतान्त्रीकरण’ रहेको छ । सन २०२५ फेब्रुअरी ८ मा प्रधानमन्त्रीले पठाएको लेख मे ४ मा स्वीकृत गरिएको लेखमा उल्लेख गरिएको छ । लेखमा जबजाई एमालेको मार्गदर्शक सिद्धान्त मात्रै नभएर देशकै एक केन्द्रीय मार्गदर्शक विचारको रूपमा चित्रित गरिएको छ । ‘गुणात्मक विश्लेषण, ऐतिहासिक खोज’का माध्यमबाट प्राथमिक र द्धितिय दुवै स्रोत प्रयोग गरेर लेख तयार गरिएको प्रधानमन्त्री ओलीले लेखमा उल्लेख गर्नुभएको छ ।
जबज नेपाली माटोको ‘मौलिक विचार’, ‘माक्सवादको नेपाली संस्करण’
तेस्रो विश्वका धेरै देशको वामपन्थी आन्दोलन र नेपालको फरक भन्दै प्रधानमन्त्री ओलीले नेपाली वामपन्थी आन्दोलनले राष्ट्रिय स्वतन्त्रता र उपनिवेशसँग नलडेर आन्तरिक तानासाहसँग लड्नु परेको बताउनु भएको छ । मदन भण्डारी विदेशी विचारको हुबहु नक्कलको विपक्षमा भएर जबज ल्याएको भन्दै प्रधानमन्त्री ओलीले मदन नक्सालवादीको नक्कलमा गरिएको झापा विद्रोहदेखि ख्रुस्चेभको सोभियत मोडेलसम्मको विरोधमा भएको लेखमा उल्लेख गरेर प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, ‘जबज माक्सवादका नेपाली मौलिक संस्करण हो ।’
जबजले श्रमजीवी वर्ग र गैर श्रमजीवी वर्ग सँगै जाने बाटो देखाएको भन्दै प्रधानमन्त्री ओलीले लेखमा माक्सले हिंसाको प्रवर्द्धन नगरेको बताउनु भएको छ । जबजकोबारेमा पाँचौँ महाधिवेशनमा सैद्धान्तिक बहस भएता पनि जबजमा सङ्गठनात्मक संरचनाको सवालमा भने खासै बहस हुन नपाएको भन्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीको निधन भएपछि जबजको सिर्जनात्मक बहस, र अरू विभिन्न मोर्चाका सैद्धान्तिक विकासका काम अन्त्य भएको बताउनु भएको छ । जबजका खास सिद्धान्तहरू भन्नु नै सहमति र जनताको सक्रिय सहभागिताबाट क्रान्तिकारी रूपान्तरण गर्नु, शान्तिपूर्ण र प्रजातान्त्रिक प्रणालीमा परिवर्तन गर्नु भएको प्रधानमन्त्री ओलीले लेखेमा लेख्नु भएको छ ।
जबजको ‘लाइन’मा विश्व वामपन्थी आन्दोलन र नेपाली माओवादी
शान्तिपूर्ण र लोकतान्त्रिक बाटेमा कम्युनिस्ट आन्दोलन हिँड्नुपर्ने भन्ने जबजको सिद्धान्त एसिया, अफ्रिका, ल्याटिन अमेरिका र विश्वका अरू भागका हिंसात्मक कम्युनिस्ट पार्टीहरूको पराजय तथा लोकतान्त्रिक वाम शक्तिको विजयले प्रमाणित गरेको प्रधानमन्त्री ओलीको तर्क छ । नेपालमै कुनै बेला जबजलाई ‘दक्षिणपन्थी’ मान्ने माओवादीले ‘२१ औँ शताब्दीको जनवाद’को नाममा जबजकै छाया ल्याएको प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । माओवादीबारेमा आलोचनात्मक देखिनु भएका प्रधानमन्त्री ओलीले लेखमा भन्नुभएको छ, ‘११ वर्षको हिंसापछि पनि जित हात नपारेर दल सङ्कटमा परेपछि माओवादीले जनवादी गणतन्त्र र बन्दुकको नालबाट सत्ता जन्मन्छ भन्ने वाणी त्यागो ।’ एमाले र माओवादीमा ‘ट्याक्टिकल’ मात्रै नभएर ‘फन्डामेन्टल’ फरक भएको प्रधानमन्त्री ओलीले लेखमा उल्लेख छ ।






प्रतिक्रिया राख्नुहोस्