पानी नपर्दा तनहुँमा धान रोपाइँ प्रभावित

तनहुँ- पर्याप्त पानी नपर्दा मध्ये साउनसम्म पनि तनहुँमा रोपाइँ पुरा हुन सकेको छैन ।
जिल्लामा हालसम्म ८८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गत वर्षहरुमा साउनको पहिलो हप्ता नै धान रोपाइँ सम्पन्न हुने गरेपनि यस वर्ष पानी पर्याप्ता नपर्दा रोपाइँ प्रभावित बनेको हो ।
लामो समयको खडेरी र प्रयाप्त बर्षा नहुँदा अझै १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि अर्थ विज्ञ सुरज गैह्रेले जानकारी दिनुभयो ।
नदी तथा खोलाबाट सिञ्चित गैरी खेतमा रोपाइँ भए पनि मूल फुट्ने गरी आकाशे पानी नपर्दा टारी खेतमा रोपाइँ गर्न ढिलाइ भएको गैह्रेको भनाइ छ ।
भलपानी छोपेर, मूल फुटेर रोप्ने खेतमा हालसम्म समेत रोपाइँ हुन नसकेको व्यास नगरपालिका-८ रिस्तीका कृषक रामप्रसाद मिश्रले बताउनुभयो । खेत रोप्ने प्रतिक्षामा धान रोप्न राखिएको विउ समेत छिप्पिएर बिग्रन समेत लागेको छ ।
तनहुँमा सोना मनसुली, सावित्री, मकवानपुरे, सुख्खा १, सुख्खा २, आधुनिक जातहरु युएस ३१२ र च्यम्पियन हाईब्रिड जातका धान बढी लगाउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा आठ हजार ७२० हेक्टर जमिन वर्षेधान खेती हुने गरेको छ ।
गत वर्ष आठ हजार ७२० हेक्टर जमिनमा धान लगाउँदा ३५ हजार ५२ मेट्रिक टन उत्पादन भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्