कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एकजना घाइते

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर पोखरा महानगरपालिका-२५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिनुभयो ।
घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा विहान करिब १० बजे पहिरो खसेको थियो । प्रहरीका अनुसार दिउँसो करिब साढे २ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । स्थानीय बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले उल्लेख गरेको छ।
उक्त घटनामा परी स्थानीय शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते हुनुभएको छ । उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी तत्काल अस्पताल लग्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्