रौतहटमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित , किसान चिन्तित

रौतहट – रौतहटमा पर्याप्त वर्षा नहुँदा र सिँचाइको अभावका कारण धान रोपाइँ प्रभावित भएको छ। पर्याप्त मात्रामा पानी नपर्दा जिल्लामा धान रोपाइँ हुन् सकिरहेको छैन भने बिना बिना किसानहरू धान रोप्न छटपटाई रहेका छन्। एक त पानी नपर्दा जसोतसो सिँचाइ गरेर किसानहरू धान रोप्ने पनि पानी नपर्दा रोपेको धान समेत सुक्न थालेको छ। रोपेको धानहरू सुक्न थालेपछि किसानहरू झन् चिन्तित भएका छन्। त्यस्तै रोपेको धान हुर्काउन मल खाद नपाउँदा किसानलाई थप चिन्तित बनाइदिएका छन् ।
सरकारले सहुलियत दरमा सहकारी संस्था मार्फत उपलब्ध गराउने मल खाद नपाउँदा किसानहरू चर्को मूल्य तिरेर पसलबाट मल खरिद गर्न बाध्य छन् । मल खाद नपाउँदा चर्को मूल्य तिरेर मल खरिद गर्नु पर्ने बाध्यताका रहेको माधव नारायण नगरपालिका ६ का किसान किसुन रायले बताउनु भयो ।
मल खादको अभाव र चर्को मूल्यका कारण किसानहरू मारमा परेका छन् भने खाद्य सङ्कटको सम्भावना बढेको छ। कृषि ज्ञान केन्द्रले वैकल्पिक बाली लगाउन र किसानलाई आवश्यक सहयोग गर्न सरकारलाई आग्रह गरेको छ। साउनको पहिलो साता सकिँदासमेत जिल्लामा जम्मा ५५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र, रौतहटका निमित्त प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिनु भयो ।
जिल्लामा ३४ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि हालसम्म १८ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ।
मौसममा आएको चरम अस्थिरता र पूर्वाधार अभावका कारण किसानहरू चिन्तित बनेका छन्। ज्ञान केन्द्रका प्रमुख कुर्मीका अनुसार यमुना माई, गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६०–६५ प्रतिशत रोपाइँ भएको भए पनि ईशनाथ र बौद्धिमाई नगरपालिकामा यो अनुपात ४५ प्रतिशतमा सीमित छ।
वर्षा नभएपछि अधिकांश किसानहरूले स्यालो ट्युबवेल र डिजेल मोटरको सहारामा सिँचाइ गर्न थालेका छन्। पानीको मात्र नपुगेपछि रोपिएको धान सुक्न थालेको कट हरिया नगरपालिका–५ का किसान ज्यूत रायले बताउनु भयो। उहाँले भन्नु भयो ‘हामीले महँगोमा पानी हालेर रोपाइँ त गर्यौँ, तर पानी टिक्दैन, धान झन् झन् पहेँलो हुन थालेको छ।’ मल खाद अभाव र मूल्यवृद्धिले दोहोरो मारमा छौँ उहाँले भन्नु भयो ।
सिँचाइ मात्र होइन, मल खादको अभाव र चर्को मूल्यले पनि किसानहरूको दुःख दोब्बर बनेको छ। उर्वरकको सहज उपलब्धता नहुँदा खेतमा पर्याप्त मल हाल्न नसकिएको किसानहरूको गुनासो छ। ‘सरकारले मल ल्याउने भन्छ, तर कहिले आउँछ थाहा छैन। बजारमा पाइए पनि महँगो, त्यो किनेर हाल्दा घाटा लाग्ने भयो’ अर्का किसान तथा कट हरिया नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले भन्नु भयो ।
गत वर्ष असोज महिनामा आएको बाढीले व्यापक क्षति बेहोरेका किसानहरू यस वर्ष फेरि पनि मौसम प्रतिकूलताका कारण चिन्तित बनेका छन्। जलवायु परिवर्तनको असर स्थानीय खेती प्रणालीमा स्पष्ट देखिन थालेको विश्लेषण कृषि विज्ञहरू गरिरहेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार, तीन दिन अघि दक्षिणी क्षेत्रमा केही वर्षा भए पनि अधिकांश क्षेत्र अझै आकाशे पानीको पर्खाइमै छन्। यस्तो अवस्थाले धान उत्पादनमा ठुलो गिरावट आउने सम्भावना उच्च रहेको कृषि ज्ञान केन्द्र गौरले चेतावनी दिएको छ।





प्रतिक्रिया राख्नुहोस्