रैथाने बाली ‘कोदो’ संरक्षणमा मकवानपुरका दुई स्थानीय तह

मकवानपुर- यहाँका स्थानीय तहहरू रैथाने बाली कोदोको संरक्षण तथा प्रवर्द्धनतर्फ सक्रिय बन्दै गएका छन् । मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाले कोदो बालीलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न थालेका छन् ।
यी दुई पालिकाले कोदोको न्यूनतम समर्थन मूल्य तोकी किसानलाई मूल्य सुरक्षा प्रदान गरेका छन् भने मकवानपुरगढी गाउँपालिकाले सहकारीमार्फत संकलन, प्रशोधन र बजारीकरणको व्यवस्था गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाले कोदोको संरक्षण र प्रवर्द्धनका किसानहरूले उत्पादन गरेका कोदो तथा अन्य रैथाने बालीलाई वडा नम्बर ४ स्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडमार्फत संकलन गर्दै आएको छ ।

यहाँ संकलित कोदोबाट पिठो बनाएर कालीखोला ब्रान्डमा लेबलिङ र प्याकेजिङ गरिरहेको छ । कालिखोला ब्रान्डको कोदो पिठो अहिले एक, दुई र पाँच किलोका प्याकेटमा उपलब्ध छ । साथै कोदोको बीउ बजारमा बिक्रीका लागि पठाउने व्यवस्था मिलाइएको छ ।
जुनेलो, फापर र धानकोदो जस्ता रैथाने बाली समेत यहाँ संकलन गरिएको छ । कृषि शाखा प्रमुख गोपाल लम्सालका अनुसार पालिकाले किसानलाई प्रतिकिलो ६ रुपैयाँ र सहकारीलाई प्रतिकिलो ४ रुपैयाँ अनुदान दिने व्यवस्था पनि मिलाएको छ ।
पहिले उचित मूल्य नपाएर निराश भएका किसानहरू अहिले न्यूनतम समर्थन मूल्य ६० रुपैयाँ प्रतिकेजी पाउँदा उत्साहित छन् । पाँच वर्षयता पालिकाले बीउ वितरण, आधुनिक कृषि उपकरण सहयोग, व्यवसायिक खेती तालिम, सहकारीसँग सहकार्य लगायतका कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको शाखा प्रमुख लम्सालले बताउनुभयो ।

अब मकवानपुरगढीले फापर, कागुनो जस्ता अन्य रैथाने बालीलाई समेत ब्रान्डिङ गरी बजारमा लैजाने तयारी गरिरहेको छ ।
गाउँपालिकाले रैथाने बालीलाई नयाँ पुस्तासँग जोड्न विद्यालयमा हप्ताको एक दिन रैथाने खाजाको व्यवस्था गरेको छ । यति मात्रै होइन, कोदोबाट व्यवसायिक रुपमा वाइन बनाउन अध्ययन समेत भइरहेको छ ।
गत आर्थिक वर्षमा गाउँपालिका भित्र ७ सय ५० हेक्टर क्षेत्रफलमा कोदो लगाइएको थियो । सो क्षेत्रबाट १ हजार दुई सय ५० मेट्रिक टन कोदो उत्पादन भएको पालिकाले जनाएको छ ।
भीमफेदी गाउँपालिकाको समर्थन मूल्य र प्रोत्साहन कार्यक्रम
रैथाने बालीको प्रवर्द्धन गर्दै भीमफेदी गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजि ५५ रुपैयाँ तोकेको छ । गत आर्थिक वर्षमा ३५ लाख विनियोजन गरेर कोदो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको पालिकाले चालू आर्थिक वर्षमा बजेट वृद्धि गर्दै ३७ लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष दुई रोपनीभन्दा बढी जमिनमा कोदो खेती गर्ने ४ सय २४ किसानलाई उत्पादनको आधारमा न्यूनतम २५ सयदेखि अधिकतम २७ हजार रुपैयाँसम्म प्रोत्साहन रकम वितरण गरिएको कृषि शाखा प्रमुख उज्वल रानाले जानकारी दिनुभयो ।

पालिकाको तथ्यांक अनुसार, गत वर्ष २ सय ५५ हेक्टरमा कोदो खेती गरेर ५ सय ९ मेट्रिक टन उत्पादन भएको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले खडेरीको असरले मकै उत्पादनमा २० देखि ३० प्रतिशत गिरावट आएकाले कोदो खेतीलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको बताउनुभयो । “यसले खाद्यान्न संकट टार्न मद्दत गर्नुका साथै रैथाने बालीको संरक्षण र व्यवसायीकरणमा ठोस योगदान दिएको छ,” उहाँले भन्नुभयो ।
कृषि विकास कार्यालय चितवनको तथ्यांक अनुसार, मकवानपुर जिल्लाको ६ हजार ६ सय हेक्टर क्षेत्रमा कोदो खेती हुँदै आएको छ । तीमध्ये सबैभन्दा धेरै कैलाश गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टर क्षेत्रमा कोदो खेती हुने गरेको छ ।

मकवानपुरको १० स्थानीय तहमध्य सबैभन्दा कम मकवानपुरको मनहरी गाउँपालिकाको ६ हेक्टर क्षेत्रफलमा कोदो लगाउने गरिएको छ । अघिल्लो आर्थिक वर्षमा मकवानपुर जिल्लामा ८ हजार ८ सय ७८ मेट्रिक टन कोदो उत्पादन भएको थियो । विशेषतः डल्ले कोदो र ओख्ले प्रजातिको कोदो खेती यहाँ बढी गरिन्छ ।






प्रतिक्रिया राख्नुहोस्